हराइरहेको विमानको खोजी जारी

  • 12 मार्च 2014
विमानको खोजी तस्वीर कपीराइट AFP
Image caption संभाव्य सबै क्षेत्रहरुमा हराइरहेको विमानको खोजी भैरहेको मलेसियाली अधिकारीहरुले जनाएका छन्

गएको पाँचदिन देखि हराइरहेको मलेसियाली वायुसेवाको विमानका बारेमा विवादास्पद विवरणहरु आइरहँदा खोजी टोलीहरुले मलय प्रायद्वीपको पूर्व र पश्चिम तर्फको विशाल जलक्षेत्रमा खोजी गरिरहेका छन्।

मलेसियाली अधिकारीहरुले एउटा सैनिक रेडारले मलक्का जलडमरुमा एउटा अज्ञात वस्तु पत्ता लगाएको, जुन हराइरहेको विमान हुनसक्ने बताएका छन्।

शनिबार बिहानै क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको मलेसिया एअरलाइन्सको एमएच थ्रीसेभनजिरो उडानमा रहेको विमान एक घन्टाभित्रै सम्पर्क विच्छेद भएको थियो।

बेपत्ता

विमान बेपत्ता भएको खबर पाउनासाथै कैयौं मुलुकका टोलीहरुलाई उक्त विमानको खोजीमा लगाइएको थियो।

द‌क्षिण चीन सागरमा भियतनामको तट पारी झण्डै तीन सय किलोमिटर दक्षिणपूर्वमा एक तेलखानीमा काम गरिरहेको एकजना कामदारले आफुले आकाशमा आगो लागेको एक वस्तु देखेको बताए।

संयुक्त राज्य अमेरिकाको नौसेनाका दुईवटा पानी जहाजहरुपनि खोजी कार्यमा संलग्न छन्।

अमेरिकाको सातौं नौसैनिक बेडाका कमाण्डर विलियम मार्क्सले अब हराइरहेका यात्रुहरुलाई जीवितै पाउने संभावना कम हुँदै गएको जनाए।

उनले भने, “समय हाम्रो साथमा छैन। जति समय बित्दै जान्छ, त्यति फराकिलो क्षेत्रमा हामीले खोजी गर्नुपर्नेहुन्छ। बलियो इच्छा शक्ति भएको मानिस खानेकुरा र पानी विना कम्तीमा बहत्तर घन्टासम्म बाँच्न सक्छ। त्यसपछि बाँच्ने संभावना निकै कम हुँदै जान्छ। त्यसैले हामी चिन्तित छौं।“

'अन्तिम शब्द'

मलेसियाली वायुसेवाका अधिकारीहरुले हराइरहेको सो विमानका चालकहरुले बोलेका अन्तिम शब्दहरु उक्त विमानमा सवार एकसय चौवन्न्जना चिनियाँ यात्रीहरुका नातेदारहरुलाई सुनाएका थिए।

बेइजिङको एउटा होटलमा जम्मा भएका सैयौं परिवारजनहरुले वायुसेवाका प्रतिनिधिहरुसंग ककपिटमा अन्तिम अवस्थामा के भएको थियो लगायतका थुप्रै प्रश्नहरु सोधेका थिए।

उक्त श्रव्य सामग्रीका अनुसार उक्त विमान मलेसिया तथा भियतनामको हवाइसीमामा पुगेपछि मलेसियाको हवाइ नियन्त्रण कार्यालयले सो विमानलाई अब हो चिमिन्ह शहरको नियन्त्रण कार्यालयलाई हस्तान्तरण गरिएको जनाएका थिए।

त्यसपछि चालकहरुले ठिक छ भन्ने जवाफ दिएका थिए। त्यसको केही मिनटमै विमान बेपत्ता भएको थियो।

यसैबीच चीनले हराइरहेको विमानका बारेमा विवादास्पद सूचना दिइएको भनी सार्वजनिकरुपमा गुनासो गरेको छ।

विदेश मन्त्रालयका एकजना प्रवक्ताले भने, कुन सूचना सही हो भनि विश्वास गर्नै गाह्रो छ।

बीबीसीका एकजना संवाददाता भन्छन्, हराइरहेको विमानको अन्तर्राष्ट्रियरुपमा भैरहेको खोजी कार्यको संयोजन गर्न मलेसियाले गरिरहेको प्रयासहरु देखेर धेरै मुलुकहरु निराश भएका छन्।

तर मलेसियाले भ्रम फैल्याउने खालको कुनै सूचना नदिइएको र चीनको चिन्ता उसले बुझ्न सक्ने जनाएको छ।

उक्त विमानमा सवार २३९ जना यात्रुहरुमध्ये धेरैजसो चिनियाँ नागरिकहरु थिए।

रहस्य

अन्तराष्ट्रिय रुपमै खोजी कार्यलाई तीव्र बनाइए पनि पाँचदिनसम्म पनि विमान बेपत्ता हुनुको कुनै रहस्य खुलिसकेको छैन।

अधिकारीहरुले अझै पनि के भएर विमान हराइरहेको पत्ता लाग्न नसकेको बताएका छन्।

तर अनुसन्धान विशेषगरी आक्रमण, तोडफोड, व्यक्तिगत र मनोवैज्ञानिक कारणले भएको हुनसक्ने विषयमा केन्द्रित भएको बताइएको छ।

विमानमा एसिया बाहेक उत्तर अमेरिका र युरोपका यात्रुहरु पनि थिए।

विमानबारे केही जानकारी नआउँदा आफन्तहरुले निराशा व्यक्त गरेका छन्।