चिनियाँ युद्धपोतद्वारा विमानको खोजी

  • 13 मार्च 2014
चीनले सार्वजनिक गरेको तस्वीर तस्वीर कपीराइट v
Image caption चीनले आइतबार खिचिएका भूउपग्रह तस्वीरहरु बुधबार सार्वजनिक गरिएको थियो

चिनियाँ सरकारी टेलिभिजनले भनेको छ, दक्षिण चीन सागरमा एउटा युद्धपोतले गएको शनिबारदेखि हराइरहेको मलेसियाली वायुसेवाको विमानका भग्नावशेषहरुको खोजी गरिरहेको छ।

यसअघि मलेसियाली अधिकारीहरुले उक्त विमानको भग्नावशेष ठानिएको चिनियाँ भूउपग्रहले पठाएका तस्वीरहरु गल्तीले प्रकाशित गरिएको चिनियाँ राजदूतावासले जनाएको बताएका थिए।

क्वालालम्पुरमा संवाददाताहरुसँग बोल्दै मलेसियाका यातायात मन्त्री हिसामुद्दिन हुसेनले भने, “यो एउटा अभूतपूर्व परिस्थिति हो। खुला समुद्र माथि उडिरहेका बेला एमएचथ्रीसेभेनजिरो उडान पुरै मौन हुनपुग्यो। अहिले विभिन्न मुलुकहरुका असीभन्दा बढी पानीजहाज तथा विमानहरु खोजी कार्यमा संलग्न छन्। यो एउटा सँकटको परिस्थिति हो।“

सम्पर्क

उनले विमानको इन्जीनले उड्डयन नियन्त्रकसँग अन्तिमपटक सम्पर्क भएपछि पनि तथ्याँक पठाइरहेको भनी सन्चारमाध्यममा आएको समाचार गलत भएको पनि बताए।

क्वालालम्पुरबाट बेइजिङतर्फ गैरेहेका उक्त विमानमा रहेका दुईसय उनान्चालिस जना यात्रु तथा चालकदलका सदस्यहरुमध्ये डेढसय भन्दा बढी चिनियाँ नागरिकहरु थिए।

गत शनिवार देखि हराइरहेको मलेसिया एअरलाइन्सको विमानको खोजीमा चीनले आफ्ना कम्तीमा दशवटा भूउपग्रहहरुको प्रयोग गरिरहेको छ।

हराइरहेको उक्त बोइंग ट्रिपल सेभेन विमानको पखेटाको चौडाई ६१ मिटर छ।

गुनासो

यसअघि चीनले हराइरहेको विमानका बारेमा विवादास्पद सूचना दिइएको भनी सार्वजनिकरुपमा गुनासो गरेको थियो।

विदेश मन्त्रालयका एकजना प्रवक्ताले भने, कुन सूचना सही हो भनि विश्वास गर्नै गाह्रो छ।

तर मलेसियाले भ्रम फैल्याउने खालको कुनै सूचना नदिइएको र चीनको चिन्ता उसले बुझ्न सक्ने जनाएको छ।

मलेसियाका यातायात मन्त्री हिसामुद्दीन हुसेनले खोजी कार्यको गति नघटाइने र हराइरहेको विमान पत्ता लगाउन कुनै कसर बाँकी नराखिने बताए।

बीबीसीका एकजना संवाददाता भन्छन्, हराइरहेको विमानको अन्तर्राष्ट्रियरुपमा भैरहेको खोजी कार्यको संयोजन गर्न मलेसियाले गरिरहेको प्रयासहरु देखेर धेरै मुलुकहरु निराश भएका छन्।