प्रचण्डको माग आश्चर्यजनक: कांग्रेस-एमाले

  • 14 मार्च 2014
कोइराला र खनाल
Image caption कांग्रेस र एमाले स्थानीय निकायको चुनाव जेठमा गर्न अडिग देखिन्छन्

सत्ताधारी दुई प्रमुख दलहरुले नेकपा-माओवादीसँगसँगै स्थानीय निकायको चुनावका विरुद्ध उभिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विगतको सहमतिको अवज्ञा गरेको आरोप लगाएका छन्।

खासगरी प्रचण्डको निर्णयले आश्चर्यमा पारेको उल्लेख गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले फेरी सहमति हुने आशा भने मारिसकेका छैनन्।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्यसँग मिलि संयुक्त वक्तव्य जारी गर्दै स्थानीय चुनाव गर्ने तर्फ नलाग्न चेतावनीपूर्ण आग्रह गरेका थिए।

अस्वाभाविक

दुई माओवादी पार्टीका प्रमुखको साझा वक्तव्यले गर्दा स्थानीय निकायको चुनाव गराउने मनस्थितिमा देखिएका सत्ताधारी दलमा चस्को पसेको छ।

प्रचण्डको निर्णय अस्वाभाविक ठानेका एमाले नेता भीम रावलले भने, "वैद्यजीहरुले त संविधानसभाको चुनाव नै अस्वीकार गरेको हो, तर प्रचण्डजीहरुले त कयौं बैठकहरुमा पटक-पटक स्थानीय चुनावको पक्षमा प्रतिवद्धता जनाउनु भएको थियो, म नै त्यसको सांक्षी छु, चुनावमा सार्वजनिक रुपमा पनि त्यो घोषणा गर्नु भएको थियो।"

प्रचण्ड र वैद्य दुबैले वर्ष दिनभित्र सम्पन्न गर्नु पर्ने संविधान लेखनको काममा बाधा पुग्ने भन्दै त्यसलाई चुनावको विपक्षमा उभिने आधार बनाएका छन्।

त्यसको प्रतिवाद गर्दै नेता रावल प्रश्न गर्छन्, "के स्थानीय निकायको चुनाव गर्नाले अघिल्लो संविधानसभाले चार वर्षसम्म पनि संविधान लेख्न नसकेको हो र?"

हालिमुहाली

समय घर्किदै गए पनि कांग्रेस र एमाले अझैं पनि जेठभित्रै चुनाव गराउने पक्षमा छन्।

कांग्रेस नेता दिलेन्द्र बडुको भनाई छ, "जनप्रतिनिधि नहुँदा स्थानीय निकायका साधन-स्रोतको दुरुपयोग रोक्न पनि जेठभित्र स्थानीय निकायको चुनाव र एक वर्षभित्र संविधान लेखन दुबै कुरा माओवादीहरु सहितको सहमतिमा पुरा गर्नुको विकल्प छैन्।"

एक दशक भन्दा बढीदेखि स्थानिय निकाय जनप्रतिनिधविहीन छन्।

जनताद्वारा निर्वाचित प्रतिनिधिको अभावमा ती निकायमा कर्मचारीतन्त्र र राजनीतिक संयन्त्रको हालिमुहाली चल्ने गरेको छ।