सरकारलाई घुँडा टेकाउने धम्की

  • 16 मार्च 2014
सिंहदरवार
Image caption विगतमा विद्यार्थीहरुले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि पुनरावलोकन गर्न वाध्य पारेका थिए

सत्ताधारी दल निकट विद्यार्थी संगठनहरु सम्मिलित मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई घुडा टेकाउने चेतावनी दिएको छ।

अधिकारीहरुले नेपाल आयल निगमको घाटा उच्च हुुदै गएकाले बाध्य भइ मूल्यबृद्धि गर्नु परेको बताएका छन्।

तर सत्ता र प्रतिपक्षमा रहेका राजनीतिक पार्टी निकट विद्यार्थी संगठनहरु मूल्यवृद्धि विरुद्ध यसअघि जस्तै एउटै मोर्चामा उभिएका छन्।

सामना

मूल्य‍वृद्धको खबरसँगै विद्यार्थी संगठनहरुले सडकक तताउन शुरु गरिसकेका छन्।

उपत्यका बन्द सहितको आन्दोलनको घोषणा गरेको मोर्चामा बन्द कार्यक्रम नगर्ने घोषणा गरेका नेपाली कांग्रेस र नेकपा एमाले सम्बन्ध विद्यर्थी संगठनहरु पनि छन्।

उनीहरुले प्रिय होस वा अप्रीय, निर्णय गरिसकेपछि त्यसको सामना गर्ने स्वभावका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई घुडा टेकाउने धम्की दिएका छन्।

मोर्चामा सम्वद्ध अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा भन्छन्, "हामीले ज्ञापन-पत्र मार्फत र सहज रुपमा गरेका आग्रह स्वीकार नगरे मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई घुँडा टेकाएरै छाड्छौं, निर्णायक आन्दोलन हुुन्छ।"

विद्यार्थी आन्दोलनका कारण विगतमा कयौं पटक सरकारले मूल्य वृद्धि फिर्ता लिने गरेको थियो।

घाटा

त्यस्तो विगतका कारणले नै हुनसक्छ वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले पनि फिर्ता नलिने अडान देखाउन सकेनन्।

उनी भन्छन्, "निर्णय फिर्ताबारे भन्न सक्ने अवस्थामा म छैन्, तर आयल निगमको ठूलो नोक्सानी हेर्दा चाँही फिर्ता लिन गाह्रो छ।"

उनले निर्णय फिर्ता लिइएमा निगमले आपूर्ती सहज गर्न नसक्ने र त्यसबाट पेट्रोललियम पदार्थको अभाव उत्पन्न हुनसक्ने बताए।

अधिकारीहरुका अनुसार पेट्रोलियम पदार्थको आपूर्ती गर्ने एक्लो निकाय नेपाल आयल निगमले महिनाको एक अर्वभन्दा बढी घाटा व्यहोर्नु परिरहेको छ।

तर विद्यार्थी संगठनहरुका विचारमा त्यहाँभित्रको चुहावट र अनियमिताका साथै सरकारी अदुर्दर्शी नीतिका कारण निगमले घाटा सहनु परेको बताउने गर्छन्।