क्राइमियाको मत परिणामको वैधतामाथि प्रश्नहरु

  • 17 मार्च 2014
क्राइमियाबासी तस्वीर कपीराइट Reuters
Image caption अधिकारीहरुका अनुसार ८० प्रतिशत भन्दा बढी मतदाताले चुनावमा भाग लिएका थिए

क्राइमियाका चुनाव अधिकारीहरुले मतगणना आधा सकिदा ९५ प्रतिशत भन्दा बढी मतदाताले रुसमा मिसिने पक्षमा मतदान गरेको बताए।

क्राइमियामा जनमत संग्रह गर्ने जिम्मेवारी पाएको चुनाव आयोगका अधिकारीहरुका अनुसार ८० प्रतिशत भन्दा बढी मतदाताले चुनावमा भाग लिएका थिए।

सो आयोगका प्रमुख मिखाइल मालिशेभले पछिल्लो मत परिणाम सार्वजनिक गरेका थिए।

अमेरिका र युरोपले जनमत संग्रह गैरकानूनी भएको र त्यस्को परिणाम आफूहरुलाई स्वीकार्य नहुने बताए।

विवाद

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुनाव अन्तर्राष्ट्रिय कानून अनुसारै भएको विश्वास आफूलाई लागेको दोहोर्याएका छन्।

रुसमा पुन समाहित हुने निर्णायक मतदान भएको खुशियाली मनाउन क्राइमियाको प्रमुख शहर सीम्फेरोपोलको लेनिन स्कायरमा हजारौं मानिसहरु भेला भएका थिए।

क्राइमियाकी एक महिलाले आफुलाई रुस अति मन पर्ने बताइन्।

“मलाई रुस मनपर्छ, रुसमा बस्नु मेरो सपना हो, अब क्राइमिया युक्रेन होइन।”

क्राइमियाका टटार लगायका समुहहरुले चाही बन्दुकको छायाँमा जनमत संग्रह गरिएको भन्दै मतदान बहिष्कार गरेका थिए।

'रुसको अंश'

क्राइमिया क्षेत्रमा कार्यवहाक प्रधानमन्त्री सर्गेई आक्सियोनोभले अब छोटो समयावधी भित्रै क्राममिया रुसको अंश बन्ने बताए।

उनले त्यसबारे औपचारिक निवेदन गर्न आफू एक टोली सहित सोमबार मस्को जान लागेको बताए।

उनले क्राइमियामा अर्को साता देखि नै क्राइमियाको मुद्दा ह्रिव्नियासंगै रुबल पनि प्रचलनमा आउने घोषणा गरे।