ब्रम्हपुत्र बाँधको नेपाली जलस्रोतमा ‘प्रभाव’

  • 22 मार्च 2014
ब्रह्मपुत्र नदी तस्वीर कपीराइट Reuters
Image caption ब्रह्मपुत्र नेपाल भएर बग्न नदी नभएपनि उक्त नदीमा भारत र चीनको योजनामा नेपालको पनि चासो हुनसक्छ

ब्रम्हपुत्र नेपाल हुँदै बग्ने नदी होइन।

तैपनि दक्षिण पश्चिम तिब्बतमा उत्पत्ती भै भारत र बङ्गलादेश हुँदै बङ्गालको खाडीमा मिसिने सो नदीमा बाँध बनाउने होडले नेपालको लागि पनि महत्वपूर्ण अर्थ राख्न सक्छ।

चीनले विश्वकै प्रमुख नदीहरूमध्येको एक ब्रम्हपुत्रमा बाँध बनाउन थालेपछि सशंकित बनेको बताइएको तल्लोतटीय मुलुक भारतले तिब्बतसितको सीमावर्ती राज्य अरूणांचल प्रदेशमा थुप्रै बाँधहरु निर्माण गर्न थालेको छ।

दुवै देशले नदीको बहावलाई प्रभाव नपार्ने गरी जलविद्युत उत्पादन गरिने बताएका छन्।

चिन्ता

तर भारत, र खासगरी भारतीय राज्य आसामका वासिन्दाहरू चीनमा बन्ने बाँधहरूले ब्रम्हपुत्रमा पानीको मात्रा घटाइदिने या एक्कासी बढाइदिएर विपत्ती ल्याइदिनसक्ने चिन्ता व्यक्त गर्छन्।

पानीको यही मुद्दाका कारण भारतले पनि आफ्नो भूभागमा धमाधम बाँध बनाउन थालेको भारतीय जलस्रोतदिहरू बताउँछन्।

“बाँधहरूको रणनीतिक महत्व पनि छ,” पूर्व भारतीय वातावरणमन्त्री जयराम रमेशले केही समयअघि संसदमा भनेका थिए। “यदि हामीले सो नदीमा बाँध बनाएनौं भने त्यसको पानीमाथिको हाम्रो दावी चीनसमक्ष कमजोर बन्न पुग्ने छ।“

भारतको लागि ब्रम्हपुत्रको पानी जलविद्युतको निम्तिमात्र नभइ सिंचाई र खानेपानी लगायत दैनिक उपभोग गर्न पनि निकै जरूरी हुनेछ।

तर चीनले भारतसित जलस्रोत बाँडफाँटको कुनै सहमति नगरेको हुनाले दिल्लीलाई बेइजिङ्सित ब्रम्हपुत्रको मुद्दा उठाउन सहज नहुने विज्ञहरू विश्वास गर्छन्।

उनीहरू भन्छन्, चीनमाथि अन्तर्राष्ट्रिय दवाव श्रृजना गर्न भारतले आफ्ना छिमेकी देशहरूसितको विवादास्पद जलस्रोत सम्बन्धमा सुधार ल्याउने प्रयास थाल्नेछ।

अवसर

त्यही आसयको एक प्रतिवेदन ब्रिटेनको एक अनुसन्धानमूलक संस्था, च्याटम हाउसले हालै सार्वजनिक गरेको थियो।

यदि भारतले साँच्चिकै त्यसो ग-यो भने उक्त दक्षिणी छिमेकीसित जलस्रोत सम्बन्धी थुप्रै मुद्दाहरु रहेको नेपालका लागि पनि त्यो एक अवसर हुने जलस्रोतविदहरू बताउँछन।

तर “राजनीतिक अस्थिरतामा फँसेको नेपालले त्यो मौका छोप्न सक्ला र?” भनी प्रश्न गर्नेहरू थुप्रै छन्।