दक्षिणी हिन्द सागरमा खोजी कार्य तीव्र

  • 22 मार्च 2014
खोजी टोली तस्वीर कपीराइट AFP
Image caption खोजी कार्यमा संलग्न एकजना विमान चालकले मौसम चाहेजस्तो नभएको बताएका छन्।

हराइरहेको मलेसियाली वायुसेवाको विमानको अन्तर्राष्ट्रिय खोजी कार्य दक्षिणी हिन्द सागरमा तीव्र बनाइँदै गर्दा चीनले त्यसक्षेत्रमा संभाव्य भग्नावशेष ठानिएका वस्तुहरुको चित्र सार्वजनिक गरेको छ।

खोजी कार्यमा संलग्न एकजना अष्ट्रेलियाली विमान चालकले कुहिरो र बादलले गर्दा मौसम चाहेजस्तो नभएको बताएका छन्।

क्वालालम्पुरमा नियमित पत्रकार ब्रिफिङमा बोल्दै मलेसियाका कार्यवाहक यातायात मन्त्री हिसामुद्दिन हुसेनले चिनियाँ भूउपग्रहले हराइरहेको विमानको भग्नावशेष ठानिएका वस्तुहरुको तस्वीरहरु खिंचेको र त्यसको पुष्टि गर्न त्यसतर्फ पानीजहाजहरु पठाउन लागेको जनाए।

चीनको राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको गाओफेन वन नामक भूउपग्रहले ती तस्वीरहरु खिचेको थियो।

खोजी

खोजी कार्यमा संलग्न एकजना अष्ट्रेलियाली विमान चालकले कुहिरो र बादलले गर्दा मौसम चाहेजस्तो नभएको बताए।

यसअघि अष्ट्रेलिया सरकारले दक्षिणी हिन्द सागरमा त्यस्तै खाले वस्तुहरुको भूउपग्रहले तस्वीर खिंचेको जनाएपछि त्यस क्षेत्रमा खोजी कार्य तीव्र पारिएको थियो। ती दुबै वस्तु एकै हुन् वा फरक हुन् भन्ने निश्चित भैसकेको छैन।

अष्ट्रेलियाको सामुद्रिक सुरक्षा प्राधिकरणले खोजी कार्यको नेतृत्व गरिरहेको छ।

अष्ट्रेलियाका उपप्रधानमन्त्री वारेन ट्रसले भने, "शनिबार अबेर दुईवटा चिनियाँ विमानहरु आइपुग्दैछन्। तिनले भोलिदेखि खोजी कार्य थाल्नेछन्। भोलि जापानी विमानहरु पनि आउँदैछन्। यसबाहेक समुद्रमा खोजी कार्यमा सघाउन विश्वभरिबाट पानीजहाजहरु आउनलागेका छन्।"

विमान उडेकोबारे अन्तिम जानकारी प्रा‌प्त मलक्का स्ट्रेटदेखि उत्तर पश्चिम तथा दक्षिण पश्चिम दुबै क्षेत्रमा खोजी कार्य भैरहेको छ।

जानकारी

तर अहिलेसम्म कुनै भरपर्दो जानकारी प्राप्त भएको छैन।

यसअघि मलेसियाली अधिकारीहरुले मलेसियाली वायुसेवाको एमएचथ्रिसेभेन्टी उडानमा रहेको विमानको सन्चार प्रणाली जानीजानी बन्द गरिएको बताएका थिए।

प्रधानमन्त्री रजाकले उक्त विमान मलेसिया प्रायद्वीपको पूर्वी तट पुग्नु ठीक अघि विमानको सन्चार प्रणाली बन्द गरिएको र त्यसको एकै छिनमा मलेसिया र भियतनामको वायु यातायात नियन्त्रकहरुको सीमा नजीकै पुगेपछि विमानको ट्रान्सपण्डर पनि बन्द गरिएको बताएका थिए।

त्यसपछि मलेसियाली प्रहरीले उक्त विमानका ५३ वर्षीय चालक, जाहेरी अहमद शाह, को घरमा खानतलासी लिएको थियो। खोजी कार्यमा अमेरिकाको सँघीय जाँच ब्यूरो एफबिआइले मलेसियाली अधिकारीहरुलाई सघाइरहेको छ।

दुईसय उनान्चालिसजना यात्रु तथा चालक दलका सदस्यहरु यात्रा गरिरहेको सो विमानमा अधिकाँश यात्रुहरु चिनियाँ थिए।

सो विमानमा रहेका चिनियाँ यात्रुहरुका कैयौं नातेदार बेइजिङस्थित होटलमा बसीरहेका छन्।

विमानबारे अझै ठोस जानकारी नआउँदा आफन्तहरुले निराशा व्यक्त गरेका छन्।