हराइ राखेको विमान बारे अझै अन्योल

  • 23 मार्च 2014
तस्वीर कपीराइट AFP
Image caption अस्ट्रेलियाबाट भइरहेको हराइरहेको विमान खोजी कार्यमा चिनिया विमान पनि संलग्न हुने बताइएको छ

दक्षिणी हिन्द महासागरमा चार दिनको खोजी कार्यपछि अस्ट्रेलिया भन्दा टाढाका समुन्द्रहरु हराइ रहेको मलेसियाको यात्रुवाहक जेट खोज्ने केन्द्र बनेका छन्।

मलेसियाका अधिकारीहरुले फ्रान्सबाट स्याटेलाइट फोटोहरु पाएको बताएका छन्।

ती फोटोहरु अहिले खोजी गरिएका क्षेत्रको नजिकै खिचिएका हुन् र ती फ्लाइट नम्बर एमएच ३७०का भग्नावशेष हुन सक्छन्।

यसअघि चीन र अस्ट्रेलियाले उपलब्ध गराएका त्यस्तै आकारका बस्तुहरु थिए।

क्वालालम्पुरस्थित बीबीसीका एकजना संवाददाता भन्छन् फ्रान्सको फोटोमा त्यसको आकारबारे कुनै संकेत छैन।

चिनिया जहाज

मलेसियाले भनेको छ, दुइवटा चिनिया विमान सोमबार पश्चिम अष्ट्रेलियातिर खोजीकार्यमा सघाउन जानेछन्।

खोजीकार्यमा संलग्न अस्ट्रेलियाको पानीजहाजमा मानव रहित पनडुब्बी पनि छ।

२ सय ३९ जनासहित क्वालालम्पुरबाट बेइजिङ्गका लागि उडेको मलेसियन एयरलाइन्सको विमान मार्च ८ तारिखदेखि हराईरहेको छ।

जानीजानी विमानलाई अन्त्यै लगिएको मलेसियन अधिकारीहरुको विश्वास छ।

खोजी जारी

स्याटलाइटबाट प्राप्त सुचनाका आधारमा दुई फरक मार्गमा हराईरहेको विमानको खोजी जारी छ।

विमानलाई अन्तिम समय पाइएको मलाकादेखि उत्तर-पूर्वी मार्गमा र अर्कोतर्फ दक्षिण-पश्चिमी मार्गमा खोजी अभियान जारी रहेको अधिकारीहरुले बताएका छन्।

यद्यपि उत्तरी मार्गका कुनै पनि मुलुकले आफ्नो राडारसँग उक्त विमानको सम्पर्क नभएको बताएका छन् र स्याटलाइटबाट देखिएको विमानको संभावित भग्नावशेषको तस्वीरको आधारमा दक्षिणी हिन्द महासागरमा खोजी अभियान केन्द्रित गरिएको छ।

भग्नावशेष

मलेसियन यातायात मन्त्रालयको फेसबुक पेजमा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘‘आज बिहान फ्रेन्च अधिकारीहरुबाट दक्षिणी मार्गमा विमानको संभावित नयाँ भग्नावशेषको स्याटलाइट तस्वीर प्राप्त भएको छ।‘’

मलेसियाले ती तस्वीरबारे तत्कालै अष्ट्रेलियाको उद्दार केन्द्रलाई जानकारी गराएको जनाइएको छ।

ती तस्वीरबारे आधिकारिक पुष्टि नभए पनि शुक्रबार उक्त तस्वीर लिइएको एक जना अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ।

खोजी

ती अधिकारीले पछिल्लो पटक देखिएको संभावित भग्नावशेषको तस्वीर यसअघि देखिएको आकारको छ।

तर पहिले देखिएको वस्तुभन्दा ९ सय ३० किलोमिटर उत्तरतर्फ देखिएको ती अधिकारीले बताएका छन्।

हराईरहेको विमानको खोजी कार्यका लागि दुई वटा चिनियाँ सैनिक विमान पर्थ पुगेका छन्।

यद्यपि खोजीका लागि परिचालन गरिनसकिएको बताइएको छ।