'चालीस लाख किताव अपुग हुने'

  • 24 मार्च 2014
निजी स्कूलका विद्यार्थी तस्वीर कपीराइट AFP
Image caption आर्थिक रुपले सम्पन्नका छोराछोरी समेतले पढ्ने निजी स्कूलमा पाठ्य पुस्तकको अभाव हुन्न

नयाँ शैक्षिक सत्र सुरु हुन झण्डै तीन साता बाँकी रहँदा शैक्षिक सत्रको सुरुमा चालिस लाख पाठ्य पुस्तकको अभाव हुने शिक्षा विभागले बताएको छ।

तर सो अभाव दुई हप्ताभित्रै पूर्ती गर्ने गरी काम भइरहेको अधिकारीहरुले जनाएका छन्।

हरेक वर्ष जसो पाठ्य पुस्तक अभाव देखिन थालेकोमा अभिभावक संघले भने रोष प्रकट गरेको छ।

वैशाख दुई गतेदेखि विद्यालयको पढाई सुरु हुने भए पनि हालसम्म पाठ्य पुस्तक छपाईको काम नसकिएकोले शैक्षिक सत्रको सुरुमा पुस्तक अभाव हुने भएको हो।

प्रयास

देशभरीका ६५ लाख विद्यार्थीको लागि झण्डै पौने चार करोडको संख्यामा पाठ्य पुस्तक चाहिन्छ।

जस मध्ये निजी क्षेत्रले झण्डै डेढ करोड र जनक शिक्षा सामाग्री केन्द्रले सवा दुई करोड पुस्तक छाप्ने जिम्मेवारी पाएका थिए।

तर निजी क्षेत्रले छापी सके पनि जनक शिक्षा सामाग्री केन्द्रले झण्डै एक करोड पुस्तक छाप्न बाँकी रहेको शिक्षा विभागको भनाई छ।

विभागका महानिर्देशक लवदेव अवस्थीले भने, “अझै पनि चालिस लाख पुस्तक अभाव हुने देखिएको छ, वैशाख १५ गते सम्ममा सबै विद्यार्थीको हातमा किताव पुर्याउने प्रयास गरिरहेका छौं।”

महानिर्देशक अवस्थी भन्छन्, “जनक शिक्षाले पुस्तक छाप्ने र साझा प्रकाशनले वितरण गर्ने कार्यक्षेत्रका कारण समस्या देखिएको हो।”

कारण

पाठ्य पुस्तकको अभाव हरेक वर्ष जसो हुने गर्छ।

नेपाल अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी सरकार विद्यार्थीहरुप्रति संवेदनशील नभएको आरोप लगाउँछन्।

उनी भन्छन्, “कहिले कस्का कारण, कहिले कस्का कारण पुस्तक अभावको कुरा हुन्छ तर विद्यार्थी प्रतिको हेय र असंवेदनशीलता मुख्य कारण हो।”

सरकारले शैक्षिक सत्र सुरु भएको दोस्रो हप्तापछि नै सबैलाई पाठ्य पुस्तक पुर्याउने दावी गरे पनि विगतका वर्षहरुमा झैं महिनौं सम्म पुस्तक नपाइने हो कि भन्ने आशंका भने कायमै छ।