समितिहरुको नेतृत्वबारे प्रमुख दलहरुबीच छलफल

  • 26 मार्च 2014
संविधान सभा
Image caption अघिल्लो संविधानसभामा १४ समितिहरु रहेकोमा यसपटक पाँचवटा मात्रै बनाइने भएको छ

बुधबार बस्ने नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीचको बैठकमा कुन दलले कुन समितिको नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुने कांग्रेस र एमालेका नेताहरुले बताएका छन्।

एमाओवादी नेता पोष्ट बहादुर बोगटीका अनुसार प्रमुख तीन दलको बुधबार बस्ने बैठक संविधानसभामा बन्ने तीनवटा विषयगत समितिहरुको नेतृत्वको विषयमा केन्द्रित हुनेछ।

“विषयगत समितिहरुमा ठूला दलका प्रमुख नेता नै बस्ने नीतिगत निर्णय भएको छ, तर कुन समितिको नेतृत्व कस्ले गर्ने भन्ने विषय टुंगिन बाँकी छ।”

समितिहरु

संविधानसभामा संविधान मस्यौदा समितिको सभापति आफूले पाउनु पर्ने दाबी गर्दै आएको एकीकृत माओवादीले अहिले भने अडान बदलेको छ।

बोगटीका अनुसार अहिले उनको दलले प्रस्तावित संवैधानिक राजनीतिक तथा संवाद समिति छानेको छ।

एमालेका नेता विष्णु पौडेलले अब बुधबारको बैठकले कसले कुन समितिको नेतृत्व गर्ने भन्ने टुंगो लागाउँने बताए।

“अब धेरै काम बाँकी छैन, एकै बसाइमा सकिन सक्छ।”

कांग्रेस नेता रामचन्द्र पौडेलले पाँच वटै समितिलाई पुर्णता दिन आगामी १४ गतेभित्र समितिमा बस्नेहरुको नामावली तयार गरीने बताए।

अघिल्लो संविधानसभामा १४ वटा विभिन्न समितिहरु रहेकोमा यस पटक पाँचवटा मात्रै बनाइने भएको छ। जसले गर्दा समितिको आकार ठूलो हुन जाने र काम गर्न असहज हुन सक्ने चिन्ता कतिपय नेताहरुले व्यक्त गरेका छन्।