अल-सिसीले राष्ट्रपतिको चुनाव लड्ने

  • 27 मार्च 2014
तस्वीर कपीराइट Reuters
Image caption अल-सिसीले अत्याधिक बहुमतले चुनाव जित्ने अपेक्षा गरिएको छ

इजिप्टका सेना प्रमुख तथा रक्षा मन्त्री फिल्ड मार्सल अब्दुल फताह अल-सिसीले आफ्नो पदबाट राजिनामा दिदैँ अर्को महिना हुने राष्ट्रपति चुनावमा लड्ने घोषणा गरेका छन्।

सेनाको पोशाक लगाएर सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भए इजिप्टलाई स्थिरता तर्फ डोर्याउने प्रतिबद्धता जनाएका थिए।

गएको जुलाई महिनामा भएको आम बिरोध प्रदर्शनमा क्रममा उनले निर्वाचित इस्लामी राष्ट्रपति महमद मुर्सीलाई अपदस्थ गर्न सेनाको तर्फबाट नेतृत्वदायी भुमिका खेलेका थिए।

अपेक्षित

व्यापक रुपमा अपेक्षा गरिए जस्तै सेना प्रमुख अल-सिसीले सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै आफू सेनाको पोशाक लगाएर अन्तिम पटक उपस्थीत भएको बताएका थिए।

चुनावी अभियानको झल्को दिने गरी धारणा राख्दै उनले हजारौं इजिप्टेली युवाहरु बेरोजगार रहने अवस्था मान्य नहुने बताए।

उनले विभिन्न तप्काका जनताको चाहना अनुरुप सम्मानित पदको चुनावमा आफू लड्न लागेको बताए।

उनको भनाई थियो, “हामी इजिप्टेलीहरु सामु अत्यन्तै कठिन काम र साह्रै महंगो परिस्थिति आइपरेको छ, हाम्रो आर्थिक सामाजिक र राजनीतिक सुरक्षा सम्वन्धी वास्तविकताहरु नाजुक भइसकेका छन्, हामीले तीनको वीरतापूर्वक सामना गर्नु आवश्यक छ।”

आफ्नो सैनिक जिम्मेवारी प्रति निक्कै गौरव रहेको बताउँदै उनले स्थिरता, सुरक्षा र आशाको बाटोमा इजिप्टलाई डोर्याउने प्रतिवद्धता पनि जनाए।

इजिप्टमा अर्को महिना हुने चुनावको लागी आगामी आइतवारबाट मनोनयन शुरु गरिने बताइएको छ।

सहज

उनका समर्थकहरुले ५९ बर्षीय अल-सिसिलाई बिद्रोह मार्फत सन् २०११ मा होस्नी मुबारकको ३ दशक लामो शासन ढलेपछि इजिप्टमा चुलिएको राजनीतिक गतिरोध अन्त्य गर्ने सामर्थ्य भएको नेताका रुपमा लिएका छन्।

तर मानवअधिकारवादी संस्थाहरुको प्रतिवेदनलाई उद्धृत दृत गर्दै विरोधीहरुले उनलाई इजिप्टमा फेरी तानाशाही लाद्न सक्ने एक जना दमनकारी शैन्य प्रमुखको संज्ञा दिने गरेका छन्।

अल-सीसीको पछिल्लो घोषणाको आलोचना गर्दै मुस्लीम ब्रदरहुडका एक नेताले सेनाले राष्ट्रपति पद हत्याउन षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

बीबीसीका काइरो स्थीत सम्वाददाताका अनुसार लोकप्रियता र चुनौती दिनसक्ने विपक्षी नेताको अभावका कारण उनी सहजै राष्ट्रपतिमा निर्वाचित हुने अपेक्षा गरिएको छ।