निर्माण ठेक्का प्रकृया सुधारमा जोड

  • 28 मार्च 2014
तस्वीर कपीराइट Jitendra Raut
Image caption नेपाली ठेकेदारहरुले निर्माण गर्ने आयोजनाहरुको गुणस्तरमाथि पटकपटक प्रश्न उठ्ने गरेको छ

देशको विकास निर्माणका लागि सरकारले तय गरेका योजनाहरुको निर्माण कार्यको जिम्मा लिने निर्माण व्यवसायीहरुले वर्तमान ठेक्का प्रक्रियामा रहेर गुणस्तरीय काम गर्न नसकिने बताएका छन्।

निर्माणको ठेक्का दिने प्रक्रिया नै गलत भएको भन्दै योजनाको लागत रकम भन्दा अस्वाभाविक कम रकममा ठेक्का दिने नीति परिवर्तन गरिनुपर्ने उनीहरुले माग गरेका छन्।

पश्चिम नेपालको नेपालगञ्जमा जम्मा भएका देशभरका व्यवसायीहरुले प्रधानमन्त्री र ठूला दलका नेताहरु माझ दुखेसो पोखेका थिए।

निर्माणको काम राम्रो भएन भनेर दोष हामीलाई आउँछ तर योजनाको अनुमानित लागतमा सबैभन्दा कम रकममा गर्छु भन्नेलाई योजना निर्माणको जिम्मा दिने सरकारी नीति छ।

चिन्ता

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले भने, “१७ हजार व्यवसायीको बीचमा प्रतिस्पर्द्धा गराएर सस्तोमा काम गराउन खोज्छ, सस्तोमा काम गराउन खोज्दा जनताले सही विकास पाउन सक्दैनन्। यो चिन्ताको विषय हो।”

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री सुशील कोइरालाले पनि उनको कुरामा सही थाप्दै भने, “यो 'लो बिडिङ'को कुरा सय प्रतिशतमा बन्ने काम ठेक्का दिँदा २५ प्रतिशतमा बनाउँछु भन्छ। एक सय रुपैया खर्च लाग्ने कुरा २५ रुपैयामा बन्छ? त्यो घुस खाने हैन? खाने र दिने दुबै अपराधी हुन्।”

कार्यक्रमका अर्का सहभागी भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले 'लो बिडीङ' को समस्याले गर्दा देशभरका निर्माणका काम प्रभावित भएको भन्दै यो विषयमा काठमाडौं गएपछि निर्माण व्यवसायीहरुसँग छलफल गर्ने बताए।

उनले भने, ''सरकारको तहमामात्र निर्णय गर्नु प-यो भने छिटै हुन्छ। ऐनमा जानु परे संसदमा जानु पर्ने हुन्छ, त्यही अनुसार समय लाग्छ।''