खोजी कार्य नयाँ क्षेत्रमा केन्द्रित

  • 28 मार्च 2014
तस्वीर कपीराइट AFP
Image caption सैनिक विमान चालकहरुले दक्षिणी हिन्द महासागरमा तैरिरहेका कैयौं वस्तुहरु देखेको जनाएका छन्

झण्डै तीन साता अघिदेखि हराइरहेको मलेसियाली वायुसेवाको विमानको खोजी कार्य नयाँ क्षेत्रमा केन्द्रित गरिँदै रहँदा थप अज्ञात वस्तुहरु देखिएका छन्।

त्यस क्षेत्रमा शनिबार मात्रै खोजी पानी जहाज पुग्ने अपेक्षा गरिएको छ।

अनुसन्धानकर्ताहरुले उक्त विमान यसअघि सोंचेको भन्दा तीव्र गतिमा उडेको र तेलपनि चाँडै सकिएको हुनसक्ने निष्कर्ष निकालेपछि खोजी कार्य अन्यत्रै मोडिएको हो।

अष्ट्रेलिया तथा न्यूजिल्याण्डका सैनिक विमान चालकहरुले अष्ट्रेलियाको पर्थ शहरबाट पश्चिमतर्फ दक्षिणी हिन्द महासागरमा तैरिरहेका कैयौं वस्तुहरु देखेको जनाएका छन्।

खोजी कार्य

त्यो क्षेत्र यसअघि खोजी कार्य भैरहेको क्षेत्रभन्दा झण्डै एघारसय किलोमिटर टाढा हो।

अहिले चीनबाहेक अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विमान तथा पानी जहाजहरुले खोजी कार्यमा भाग लिइरहेका छन्। खोजी कार्यको समन्वय अष्ट्रेलियाले गरिरहेको छ।

पछिल्ला जानकारीहरु बारे बताउँदै अष्ट्रेलियाको यातायात सुरक्षा ब्युरोका प्रमुख आयुक्त मार्टिन डोलानले भने, "हाल जारी विश्लेषणले उक्त विमान पहिले सोंचे भन्दा तीव्र गतिमा उडिरहेको र त्यसले गर्दा बढी तेल खपत गर्नुका साथै हिन्द महासागरको दक्षिणतर्फ उसको उडानको संभाव्य दूरी कम हुनसक्ने देखाएको छ।

यसअघि थाइल्याण्डको अन्तरिक्ष संस्थाले उसको एउटा भूउपग्रहले मलेसियाली यात्रुवाहक विमान हराइरहेको हुनसक्ने ठानिएको दक्षिणी हिन्द महासागरको क्षेत्रमा कम्तीमा तीनसयवटा तैरिरहेका वस्तुहरुको तस्वीर खिचेको जनाएको थियो।

ती वस्तुहरु दुई देखि पन्ध्र मिटरसम्म लामो भएको बताइएको छ।

यात्रु तथा चालक दलका सदस्यहरुसमेत गरी दुईसय उनन्चालिस जना सवार सो विमानका अधिकांश यात्रुहरु चिनियाँ थिए।

जानकारी

चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ता होंग लिले अष्ट्रेलियाली अधिकारीहरुबाट प्राप्त जानकारी पछि एउटा चिनियाँ गश्ती पानी जहाज खोजी भैरहेको नयाँ क्षेत्रमा पुगिसकेको बताए।

उनले थप दुईवटा पानीजहाज तथा एउटा नौसैनिक डुँगा पनि त्यसतर्फ पठाइउको बताए।

अहिले आठवटा चिनियाँ पानी जहाजहरु खोजी कार्यमा संलग्न छन्।

क्वालालम्पुरबाट बेइजिङतर्फ गैरहेको विमानआकाश मै किन मोडियो र वायु यातायात नियन्त्रकहरुसंग उसको सम्पर्क कसरी टुट्यो भन्ने रहस्य चाहिं कायमै छ।