राष्ट्रपतिद्वय ओबामा र पुटीनवीच एक घण्टा फोनवार्ता

  • 29 मार्च 2014
पुटिन र ओबामा तस्वीर कपीराइट AFP
Image caption थप कदमबारे छलफल गर्न विदेश मन्त्रीबीच भेटवार्ता गर्न दुई राष्ट्रपति सहमत भएका छन्

रुसी राष्ट्रपति भाल्दिमिर पुटिनले अमेरिकी राष्ट्रपति बराक ओबामासँग युक्रेन मामिलालाई लिएर उत्पन्न संकट समाधानबारे कुराकानी गरेका छन्।

राष्ट्रपति पुटिनले साउदी अरेवियाको भ्रमणमा रहेका ओबामालाई फोन गरी एकघण्टा वार्ता गरेका थिए।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीका अनुसार कुराकानीका क्रममा ओबामाले आफ्नो प्रस्तावप्रति रुसले लिखित रुपमा ठोस प्रतिकृया जनाउनु पर्ने बताएका छन्।

आग्रह

अमेरिकी राष्ट्रपतिले पुटीन समक्ष युक्रेनसँगको रुसको सीमानामा फौजको वृद्धि रोक्न पनि आग्रह गरेका थिए।

क्राइमियामा भएको जनमत संग्रहसँगै पश्चिमा राष्ट्र र रुसबीच चर्किदै गएको तनावका माझ यस्तो कुराकानी भएको छ।

ह्वाइट हाउसले विज्ञप्तीमा भनेको छ, “राष्ट्रपति ओवामाले तीव्र बन्दै गएको संकटको समाधानका निम्ति कुटनीतिक पहललाई अमेरिकाले निरन्तर सघाउने कुरामा राष्ट्रपति पुटिनसमक्ष जोड दिएका थिए।“

क्रेमलिनका अनुसार पुटिन ने पनि स्थितिलाई स्थिर बनाउनेबारे सुझाव दिएका छन्।

प्रगति

विज्ञप्तीका अनुसार राष्ट्रपति ओवामाले युक्रेनको भौगोलिक अखण्डता एवं सार्वभौमिकतामा रुसले थप अतिक्रमण नगरी फौज फिर्ता ल्याएमा मात्र उक्त सम्भावना रहेकोमा पनि प्रष्ट पारेका थिए।

बीबीसीका उत्तर अमेरिकी सम्पादक मार्क मार्डेलले भने, “व्हाइट हाउसको विज्ञप्ती अनुसार राष्ट्रपति ओबामाले राष्ट्रपति पुटीनलाई लिखित रुपमा ठोस प्रस्तावहरु ल्याउन भनेका छन्। कुटनीतीक ढंगले समस्या समाधान गर्ने दिशामा यो थोरै प्रगति हो जस्तो देखिन्छ।”

दुबै राष्ट्रपतीले थप कदमबारे छलफल गर्न उनीहरुका विदेशमन्त्रीले छिट्टै भेट्ने सहमती गरेका छन्।

यसै सन्दर्भमा रुसी राष्ट्रपति पुटीनले युक्रेनमा कुनै सैनिक गतिविधि गर्ने मनसाय नरहेकोमा आफूलाई आश्वस्त पारेको न्युयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव बानकी मूनले बताएका छन्।