छिमेकी चुनावका परिदृश्यहरु

  • 2 एप्रिल 2014

विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा विभिन्न चरणमा आमचुनावमा मतदान भइरहेको छ। एक महिनाभन्दा बढी समयसम्म चल्ने यो चुनावका विभिन्न आयामलाई बीबीसीका दिल्ली संवाददाता सौतिक विश्वासले केलाएका छन्। प्रस्तुत छ उनको विश्लेषण :

तस्वीर कपीराइट AFP
Image caption बीजेपीले प्रधानमन्त्रीका प्रत्यासी बनाएका गुजरात मुख्यमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएपनि आलोचना गर्नेहरु प्रशस्तै छन्

भारतको संसदीय चुनावमा सन् १९८९ देखि कुनै पनि दलले बहुमत ल्याएको छैनन्।

त्यसपछिका कुनै सरकार पनि साना तथा क्षेत्रीय दलहरुको सहयोग विना गठन भएका छैनन्।

पर्यवेक्षकहरुले यो १६ औं आमचुनाव( अप्रिल ७ देखि मे १२ सम्म ) पनि त्योभन्दा फरक नहुने अनुमान गरेका छन्।

स्वतन्त्रताको छ दशकमा कतिपय अवस्थामा अस्तव्यस्त भएपनि प्रजातन्त्रको स्वागतयोग्य सुदृढीकरण भएको छ।

१९५२ को पहिलो आमचुनावमा भारतमा एउटा क्षेत्र बराबर ४ दशमलब ६७ जना उम्मेदवार थिए।

२००९ मा त्यो संख्या १० पुग्यो।

पहिलो आमचुनावमा सबैभन्दा ठूलो दल (कंग्रेस) र उसको निकटतम प्रतिद्धन्द्धी (कम्युनिष्टहरु) बीचको भिन्नता ३४८ सिटको थियो।

२००९ मा त्यस्तो दूरी (कंग्रेस र भारतीय जनता पार्टी बीजेपी बीच) ९० सिटमा झर्यो।

अहिलको संसदमा ३९ पार्टी छन्।

मुद्दा

२०१४ को चुनावलाई खासगरी समस्या परेको सत्तारुढ कंग्रेसविरुद्ध र विपक्षी हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी बीजेपीका विवादस्पद नेता तथा प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको पक्षको जनादेशको रुपमा हेरिएको छ।

विश्लेषकहरु भन्छन् कमजोर अर्थतन्त्र,चर्को महंगी, श्रृंखलावद्ध भ्रष्टाचारकाण्ड तथा कमजोर सरकारका कारण कंग्रेसलाई अप्ठ्यारो पर्ने देखिन्छ। मतसर्वेक्षणहरुले कंग्रेसले १०० सिटभन्दा कम जित्ने प्रच्छेपण गरेका छन् (अहिले उसको २०६ सिट छ)।

दुई कार्यकाल शासन गरेको कंग्रेस नेतृत्वको सरकारले केही महत्वपूर्ण कानूनहरु पनि ल्यायो जस्तै उदाहरणका लागि सूचना, खाद्यन्न तथा शिक्षाको अधिकारसम्बन्धी कानूनहरु।

तर त्यसबाट कमाएको सदभाव अर्थतन्त्र सही ढंगले सञ्चालन गर्न नसक्दा र भ्रष्टाचार काण्डका कारण धुमिल हुन पुगेको धेरैको धारणा छ।

मनमोहन सिंहको नेतृत्वमा कंग्रेस सरकार सिद्धान्तविहीन जहाज जस्तो देखियो।

राहुल गान्धीले चुनावी अभियान नेतृत्व गर्ने विषय पनि केही ढिलो आएको जस्तो देखियो।

मोदी लहर

तस्वीर कपीराइट PTI
Image caption दिल्ली विधानसभा चुनावमा शानदार जीत हात पारेको आमआदमी पार्टीले केही स्थामा चुनौती दिने ठानिएको छ

मोदीको नेतृत्वमा बीजेपी माथि चढ्दै गएको देखिन्छ। हालैको विधानसभा चुनावमा पांचमध्ये तीन राज्यमा बीजेपीले सत्तामा पुग्यो भने राजधानी दिल्लीमा सबैभन्दा ठूलो पार्टीका रुपमा उदय भयो।

उनको कट्टर राष्ट्रवाद र गुजरातमा उनको नेतृत्वमा भएको आर्थिक वृद्धि समग्र मुलुकमै गर्ने प्रतिवद्धताले मोदीलाई युवा मतदाताको ठूलो जमातमाझ लोकप्रिय बनाए जस्तो देखिन्छ।

तथापि मोदी बीजेपीका लागि सम्पति र दायित्व दुवै हुने सम्भावना भने यथावतै छ।

तर मोदीका समर्थकहरु उनलाई चतुर र सक्षम नेताका रुपमा हेर्छन्।

उनका आलोचकहरु भने गुजरातमा सन् २००२ मा भएको मुसलमानविरोधी दंगालाई रोक्न मोदीले पर्याप्त नगरेको बताउने गर्छन्।

कुल जनसंख्याको १३ प्रतिशत हिस्सा ओगट्ने मुसलमानहरुले मोदीलाई मत दिने सम्भावना निकै कम छ।

भ्रष्टाचारविरोधी नयां दल आमआदमी पार्टी जसले दिल्ली विधानसभा चुनावमा शानदार जीत हात पारेको थियो उसले केही सिटमा राष्ट्रिय पार्टीहरुलाई अप्ठ्यारोमा पार्ने देखिन्छ।

यसको अर्थ हो, एकदमै कडा प्रतिस्पर्धा।

बीजेपीले साना र क्षेत्रीय दलहरुलाई साथै लिएर एउटा विजयी गठवन्धन बनाउन तथा सरकार निर्माणका लागि प्रयास गर्नुपर्ने हुनसक्छ।

विभिन्न चर्चित नेताहरुले नेतृत्व गरेका क्षेत्रीय पार्टीहरुले मोदीलाई प्रधानमन्त्रीका रुपमा स्वीकार्छन् वा स्वीकार्दैनन्, त्यो पनि पेचिलो विषय छ।

बीजेपी एक्लैले कति सिट ल्याउन सक्छ भन्ने विषय पनि सम्भवत: त्यसमा निर्भर रहनेछ।

यसले शायद यो आमचुनावलाई भारतको सबैभन्दा रोचक आमचुनावमध्येको एक बनाउनेछ।