नेटोद्वारा रुससँगको सहकार्य स्थगन

  • 2 एप्रिल 2014
तस्वीर कपीराइट Reuters
Image caption रुसले युक्रेनको पूर्वी सिमामा झन्डै ४० हजार सैनिक खटाएको ठानिएको छ

उत्तर एटलान्टीक सन्धी संगठन (नेटो)ले रुससँगको सबै सैनिक र गैरसैनिक सहकार्य स्थगित गर्दै युक्रेनलाई थप सहायता उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ।

ब्रसेल्समा भेला भएका २८ देश सम्बद्ध नेटोका बिदेशमन्त्रीले क्राइमिया आफूमा गाभ्ने रुसी कदम गैरकानुनी भएको भन्दै कडा आलोचना गरेका छन्।

अमेरिकी कंग्रेसले युक्रेनलाई १ अर्ब डलर ऋण उपलब्ध गराउने सम्बन्धी कानुन अनुमोदन गरेको छ।

अवरुद्ध

रुसले क्राइमिया आफूमा विलय गराएकोमा प्रतिक्रिया जनाउँदै नेटोले रुससँग पहिले जस्तो व्यवहार नगर्ने निर्णय गरेका हो।

नेटोका महसचीव एनर्स फो रासमुसेनले उक्त अतिक्रमण युरोपको एउटा पुस्ताका लागी सबैभन्दा गम्भीर सुरक्षा खतरा भएको बताए।

यसअघि युक्रेनको सिमाबाट रुसले शैनिकहरु फिर्ता लगिरहेको भन्ने खबरहरुको उनले खन्डन गरेका थिए।

नेटोका विदेशमन्त्रीहरुले रुसँसगको सहकार्यलाई निलम्बन गर्ने निर्णय गरे पनि युक्रेन संकटबारे रुससँग छलफल गर्न तयार रहेको जनाएका छन्।

अमेरीकी विदेशमन्त्री जन केरीले युक्रेनमा जारी तनाव कम गर्न नेटोले पछिल्लो निर्णय लिएको बताए।

उनले भने, “नोटेको रोजाइ युक्रेनमा तनाव कम गर्नु, कुटनीतीक ढंगबाट समाधान खोज्नु र सबै मिलेर युक्रेनीहरुलाई भविष्यमा आफ्नो निर्णय आफैँ गर्नसक्ने बनाउनु हो, नेटो गठबन्धनले बल प्रयोग गरेर सिमाहरु हेरफेर गराउने रुसी कदमलाई निक्कै गम्भीरतापूर्वक लिएको छ।”

चिन्ता

मस्कोले पछिल्ला दिनहरुमा युक्रेनसँगको पूर्वी सिमानामा दशौं हजार सैनिकहरु परिचालन गरेको छ जसले किएभ र पश्चिमा राष्ट्रहरुलाई चिन्तित बनाएको छ।

नेटोले बाल्टीक राज्यहरुको सुरक्षामा आश्वस्त हुन स्थायी प्रकृतीको सैनिक अखडाहरु निर्माण गर्ने विकल्पमा पनि छलफल गरेको छ।

रुसले पछिल्लो गतिविधिले शितयुद्धको समयमा सोभियत युनियनको अंग रहेका इस्टोनिया,लाटभिया र लिथुनियामा चिन्ताहरु बढेका छन्।

नेटोका जेटहरुले अब सो क्षेत्रमा सैनिक अभ्यास भन्दै नियमित गस्ति गर्ने जनाइएको छ।

सो प्रयोजनका लागी ब्रिटेन, अमेरिका र फ्रान्सले थप सैनिक विमानहरु उपलब्ध गराउने निर्णय गरिसकेका छन्।

तैनाथ

ब्रसेल्सबाट बीबीसीका कुटनीतिक सम्वाददाता जनाथन मार्कस भन्छन् नेटोका श्रोतहरुका अनुसार झन्डै ४० हजार रुसी सैनिकहरु युक्रेनको पूर्वी सीमामा तैनाथ रहेका छन्।

उनीहरु सैन्य अभ्यासका लागी त्यहाँ रहेको रुसले बताएपनि पश्चिमा गुप्तचर विज्ञहरुले कुनै तालीम नभएको र ती सैनिकहरु आदेश कुरेर बसिरहेको दाबी गरेका छन्।

ट्यांक, पैदल सेना र विशेष सैन्य सहितको सो रुसी उपस्थीतिलाई पर्याप्त तयारी सहित खटाइएको निक्कै मजबुत सैन्य टोली मानिएको छ।

यसैविच अमेरिकी कंग्रेसले युक्रेनलाई एक अर्ब डलर ऋण उपलब्ध गराउने र क्राइमिया आफूमा गाभेकोमा रुसलाई दण्डित गर्ने सम्बन्धी एउटा विधेयक अनुमोदन गरेको छ।

राष्ट्रपति ओबामाले हस्ताक्षर गरेपछि कानुनको रुप लिने सो विधयेकले अमेरिकी सांसदहरुले युक्रेनका बारेमा जनाएको पहिलो वाध्यकारी प्रतिक्रिया हो।