दँगा प्रहरीबाट प्रदर्शनकारी मारिएका हुन्: यूक्रेनी मन्त्री

  • 3 एप्रिल 2014
अभाकोभ तस्वीर कपीराइट UNIAN
Image caption मन्त्री अभाकोभले प्रदर्शनका दौरान भएका घटनाबारे नयाँ प्रमाण फेला परेको बताएका छन्

यूक्रेनका आन्तरिक मामिला मन्त्री आर्सेन अभाकोभले भनेका छन् हाल विघटित बेर्कुट दँगा प्रहरीद्वारा फेब्रुअरी महिनामा दर्जनौँ सरकार विरोधी प्रदर्शनकारीहरु मारिएको एक सरकारी छानबिनले देखाएको छ।

प्रारम्भिक परिणाम अनुसार एउटै बन्दूकद्वारा ८ जना मारिएको पाइएको उनले पत्रकारहरुलाई बताए।

प्रधानमन्त्री आर्सेनिय यात्सेन्युकले बीबीसीलाई भनेका छन् ती हत्याहरुका निम्ति अपदस्थ राष्ट्रपति भीक्टर यानुकोभिच तथा उनका सहयोगीहरु जिम्मेवार छन्।

रुसी हात

यूक्रेनका सुरक्षा निकायका प्रमुखका अनुसार ती घटनाहरुमा रुसकोपनि हात रहेको थियो।

उनी भन्छन् रुसले हतियार दिएर तथा जासुसहरुलाई योजना तर्जूमामा खटाएर तत्कालीन यूक्रेन सरकारलाई सहयोग गरेको थियो। उनले प्रदर्शनकारीहरुको हत्या यानुकोभिचको प्रत्यक्ष नेतृत्वमा भएको बताए।

आन्तरिक मामिला मन्त्री अभाकोभले पत्रकारहरुलाई बताए अनुसार बेर्कुट दँगा प्रहरीका १२ जना सदस्यलाई निशानेबाजको रुपमा पहिचान गरिसकिएको छ। ती मध्ये ३ जना पक्राउ परिसकेका छन्। ७६ जनाको ज्यान जाने गरि फेब्रुअरी १८ देखि २० मा भएका घटनाहरुबारे नयाँ प्रमाणहरु जुटेको उनले बताए।

नोभेम्बर महिनामा सरकार विरोधी प्रदर्शन शूरु भएपछि भएका घटनाहरुमा परी सय भन्दा बढी मानिसहरु मारिएको थाहा लागेको छ।

तत्कालीन राष्ट्रपति यानुकोभिचले यूरोपेली युनियनसँग नजिकिने सहमतिलाई अन्तिम समयमा रद्द गर्दै रुससँग निकट हुने आशय व्यक्त गरेपछि उनको सरकार विरुद्ध प्रदर्शनहरु भएका थिए। उनी अपदस्थ भएपछि यूक्रेनमा गठन भएको नयाँ सरकारले सो सहमतिमा हस्ताक्षर गरिसकेका छन्।

यानुकोभिचको पक्षमा लागेको रुसले गत महिना यूक्रेनको क्राइमिया क्षेत्रमा भएको जनमत सँग्रहको नतीजाको आडमा त्यसलाई आफुमा गाभेको छ। सो जनमत सँग्रहलाई कियभ र पश्चिमा जगतले अवैध भनेको छ।

क्रुद्ध रुस

तस्वीर कपीराइट Reuters
Image caption यूक्रेनको सीमामा रुसी सैनिक तैनाथीबारे नेटोले चिन्ता व्यक्त गरेको छ

यसबीच रुसका विदेश मन्त्री सेर्गेई लाभ्रोभले पूर्वी यूरोपमा उनकै अनुसार उत्तर एटलान्टिक सन्धी सँगठनद्वारा भएका बढ्दा गतिविधिबारे नेटोसँग जवाफ मागेका छन्।

पूर्वी यूक्रेनको सीमा छेउ रुसी सैनिकको गतिविधिलाई नेटोले बढाईचढाई उछालेको उनले आरोप लगाएका छन्।

नेटोका वरिष्ठ सैनिक कमाण्डर जेनरल फिलिप ब्रिडलोभले भनेका छन् आफ्ना एलाई वा सहयोगिहरुलाई आश्वस्त पार्नका निम्ति उसले सुरक्षाका उपायहरु अपनाइरहेको छ।

यसअघि पूर्वी यूक्रेनको सीमा नजिकै रुसी सेनाको तम्तयारीबारे चिन्ता व्यक्त गर्दै उनले मस्कोले स्वीकृति दिएको १२ घण्टाभित्रै रुसी सेना आक्रमण गर्न सक्ने अवस्थामा रहेको बताएका थिए।