अफगानिस्तानमा महिला पत्रकारको हत्या

  • 4 एप्रिल 2014
पत्रकारहरु चढेको मोटर तस्वीर कपीराइट Reuters
Image caption चुनावको घोषणा पछि राजधानी काबुल लगायत देशका विभिन्न भागमा हमलाहरु तीव्र पारिएका थिए

अफगानिस्तानमा राष्ट्रपतीय चुनावको पूर्वसन्ध्यामा एकजना अफगान प्रहरीले एसोसियटेड प्रेस समाचारसंस्थाका लागि काम गर्ने एकजना महिला पत्रकारको गोली हानी हत्या गरीदिएका छन्।

आन्या निडरिङहावस माथि एउटा सुरक्षा परिसर भित्र हमला गरिएको थियो।

उनकी साथी, चर्चित क्यानडाली पत्रकार क्याथी ग्यानन, पनि सो हमलामा घाइते भएकी थिइन्। उनको उपचार भैरहेको छ।

हमला

खोस्त प्रान्तको तनै जिल्लामा निर्वाचन कर्मचारीहरुसित मतपत्र पुराउन सँगै गैरहेका बेला उनीहरुमाथि हमला गरिएको थियो।

एकजना प्रत्यक्षदर्शीले सवारीसाधनहरु एउटा सुरक्षा हाताभित्र प्रवेश गर्न रोकिइराखेको बेला एक प्रहरी इकाईका कमाण्डरले ती पत्रकारहरुमाथि गोली चलाएका थिए।

तर गृह मन्त्रालयका एकजना प्रवक्ता सिदिक सिद्दिकीले गल्तीले उक्त हमला गरिएको हुनसक्ने बताए।

उनले भने, “सबै संकेतहरुले के देखाउँछन् भने उक्त क्षेत्रको सुरक्षाकालागि जिम्मेवार एकजना प्रहरीले नचिनेर वा गलत निष्कर्ष निकालेर सो हमला गरेको हुनसक्दछ। उसलाई हिरासतमा राखिएको छ, उ जीवितै छ। कसरी उक्त घटना घट्यो भन्नेबारे हामीले अनुसन्धान गरिरहेका छौं।”

तालेबानले उक्त निर्वाचन जसरी पनि रोक्ने चेतावनी दिएको थियो।

चुनाव

चुनावको घोषणा पछि राजधानी काबुल लगायत देशका विभिन्न भागमा हमलाहरु तीव्र पारिएका थिए।

हेल्मण्ड प्रान्तका एकजना मतदाताले भने, तालिबानले हामीलाई तर्साइ रहेका छन्। मतदान गरेमा औंला काटने र मार्ने धम्की दिएका छन्।

अफगानिस्तानमा शनिबार हुने राष्ट्रपतिय निर्वाचनका लागि सुरक्षा प्रदान गर्न चार लाख अफगान तथा विदेशी सैन्यहरुलाई परिचालन गरिएको छ।

राष्ट्रपति पदका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।