अफगान चुनावको राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा

  • 6 एप्रिल 2014
मतदानपछि महिला तस्वीर कपीराइट BBC World Service
Image caption तालिवानको धम्की र प्रतिकूल मौसमका माझ पनि ३४ प्रतिशत महिलाले मतदानमा भाग लिएको बताइएको छ

अफगानिस्तानमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा भएको मतदाताको सहभागीताको प्रंशसा गर्दै स्थानीय र पश्चिमा नेताहरुले चुनाव सफल भएको प्रतिक्रिया दिएका छन्।

अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले तालिवानी हिंसाको धम्कीलाई चुनौति दिँदै लाखौंको संख्यामा भाग लिएर मतदाताहरुले देशको गौरव बढाए।

त्यसलाई एउटा महत्वपूर्ण प्रगति र सफलताको रुपमा उल्लेख गर्दै उनले भने, “सम्भावित आतंककारी हमला, चिसो मौसम र वर्षाका माझ पनि अफगानिस्तानका जनताले प्रजातन्त्रप्रतिको आफ्नो प्रतिवद्धता सारा विश्वसामू देखाएका छन्।”

विदेशी प्रशंसा

अमेरिकी राष्ट्रपति बाराक ओवामाले कारजाईको उत्तराधिकारी चयन गर्ने उक्त चुनावलाई कोशेढुंगाको संज्ञा दिएका छन्।

व्हाइट हाउसले जारी गरेको एउटा विज्ञप्तीमा उनले उत्साहप्रद सहभागिताका लागि अफगानी जनता, सुरक्षा फौज र निर्वाचन अधिकारीहरुको प्रशंसा गर्दै भनेका छन्, “यो चुनाव अफगानिस्तानको लोकतान्त्रिक भविष्यका निम्ति र त्यहाँ निरन्तर प्राप्त हुदैं आएको अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न महत्वपूर्ण छ।”

ब्रिटिश विदेशमन्त्री विलियम हेगले चुनावमा भएको मतदाताको सहभागितालाई अफगान जनताको महत्वपूर्ण उपलब्धि भनेका छन्।

उतर एटलान्टीक सन्धी संगठन नेटोका प्रमुख एनर्स फो रासमुसेनले चुनाव अफगानिस्तानको लागि एउटा ऐतिहासिक घडी भएको बताएका छन्।

जनमत संग्रह

राजधानी काबुलस्थिति बीबीसीका सम्वाददाता भन्छन्, "मतदानलाई कयौले तालिबानबिरुद्धको जनमतसंग्रहको रुपमा हेरेका छन्।"

अफगानिहरुले मतदानपछि मसी लागेको औंला चुनौतिको प्रतिकको रुपमा देखाउँदै खुशियाली मनाएका छन्।

केहीले त काबुलको सडकमा नाचगान समेत गरेका थिए।

संविधानत: तेश्रो कार्यकालका लागी चुनाव लड्न बन्देज खेपेका राष्ट्रपति कारजाईको उत्तराधीकारी बन्न ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।

फर्जी

अग्रपक्तिमा देखिएका भूतपूर्व विदेश मन्त्रीहरु जालमई रसुल र अब्दुल्लाह अब्दुल्लाह अनि पूर्व अर्थमन्त्री अशरफ घानीमध्ये कस्ले जित्ने हुन भन्ने प्रष्ट भइसकेको छैन्।

कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाएमा मे २८ मा सबैभन्दा धेरै मत ल्याउने दुईजनाबीच फेरी मतदान हुनेछ।

द्वन्द्वले क्षतविक्षत अफगानिस्तानमा मतपेटिकाबाट पहिलो पटक सत्ता हस्तान्तरण गर्ने क्रममा एक करोड २० लाख मध्ये ७० लाख मतदाताले भाग लिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

कतिपय ठाउँमा हिंसा भएको र प्रहरीले मतदाताहरुलाई कुटपिट गरी फर्जी मतहरु खसाएको आरोप लगाइएको छ।