भारतको संसदीय चुनावमा मतदान

  • 7 एप्रिल 2014
मोदी तस्वीर कपीराइट Ankur Jain BBC
Image caption मोदी र उनको दल अगाडी रहेको देखाएका सर्वेक्षणले कसैको वहुमत नआउने सम्भावना औंल्याएका छन्

संसारकै सबैभन्दा ठूलो प्रजातन्त्र भनिने भारतमा लोकसभा चुनावको पहिलो दिन मतदान भइरहेको छ।

चुनावको पहिलो दिन उत्तरपूर्वी राज्यहरु असमका पाँच र त्रिपुराको एउटा गरी छवटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

बुधबार पाँचवटा राज्यहरुमा र त्यसपछि क्रमैसंग देशभरि चुनाव गराइने छ।

चुनावको मतगणना १६ मेमा गरिने निर्वाचन आयोगले जनाएको छ।

चुनावी मुद्दा

भ्रष्टाचार र महँगी प्रमुख चुनावी मुद्दाको रुपमा देखिएका छन्।

तर केही मतदाताहरु भने निराश देखिन्थे।

कलकत्ताकी एकजना महिला मतदाताले भनिन्, “यो हामीले हरेक दिन टेलिभिजनमा हेर्ने विज्ञापन जस्तो लाग्दछ। बिजेपीलाई भोट देउ, काँग्रेसलाई भोट देउ। हो, हामीले भोट हाल्नेछौं। तर हामीलाई थाहा छ, उनीहरु एकपटक सत्तामा गएपछि यहाँ केही पनि हुनेवाला छैन।“

भ्रष्टाचारको विरोधलाई मुख्य मुद्दा बनाएको आम आदमी पार्टीले यसपटक संसदीय चुनावमा पहिलो पटक भाग लिइरहेको छ।

उक्त दलले दिल्ली राज्यमा छोटो समयकालागि सरकार बनाएको थियो।

काँग्रेस र भारतीय जनता पार्टी बाहेक थुप्रै क्षेत्रीय दलहरुले पनि यो चुनावमा भाग लिइरहेका छन्।

चुनौती

सत्तारुढ कंग्रेस पार्टीले विपक्षी हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारको रुपमा अघि सारिएका नेता नरेन्द्र मोदीद्वारा मुख्य चुनौतीको सामना गरिरहेको छ।

कंग्रेसले शक्तिमा पुन: आएमा समावेशी विकास गर्ने वाचा गरेको छ।

उसले आफ्नो घोषणा-पत्रमा सबैका निम्ति स्वास्थ्य सेवा र अपाङ्गता भएका र वृद्धवृद्धालाई पेन्सन दिने कल्याणकारी योजना समावेश गरेको छ।

तर अहिले सम्म घोषणा-पत्र सार्वजनिक नगरेको भाजपाका नेता मोदीले देशभरका चुनावी सभामा बोल्ने क्रममा आर्थिक विकाश, युवालाई रोजगारी र भ्रष्टाचारमुक्त सरकार दिने प्रतिवद्धता जनाउने गरेका छन्।

चुनावको पूर्व सन्ध्यामा एकजना छात्राले आफ्नो अपेक्षा दर्शाउँदै भनिन्, "गाउँमा बस्ने जनताले स्वास्थ्य लगायतका सेवा पाइरहेका छैनन्, झन माओवादी हिंसाले प्रभावित क्षेत्रमा त डाक्टरहरु जान मान्दैनन्, यो एउटा ठूलो समस्या हो, मलाई लाग्छ सरकारले त्यस तर्फ ध्यान दिनुपर्छ।"

हिंसा

प्रधामन्त्री मनमोहन सिंहले आफु सत्तामा नजाने बताइसकेका छन्।

उनले प्रभावशाली नेहरु र गान्धी वंशका पछिल्ला प्रतिनिधि राहुल गान्धीले कंग्रेसको तर्फबाट नेतृत्व सम्हाल्ने धारणा राखेका थिए।

भारतीय जनता पार्टीको चुनावी अभियानको नेतृत्व चमत्कारिक तर विवादास्पद हिन्दु राष्ट्रवादी नेता मोदीले गरिरहेका छन्।

उनी गुजरात प्रदेशका नेता हुन्, जहाँ सन् २००२ मा भारतकै एउटा खरावमध्येको मुस्लिम विरोधी हिंसा भएको थियो।

अग्रता

विधानसभाको चुनावमा ठूलो सफलता हात पारेको भ्रष्टाचार विरोधी नयाँ दल आम आदमी पार्टीले पनि चुनावमा प्रतिस्पर्द्धा गरिरहेको छ।

उसले राजधानी दिल्लीमा विधानसभाको चुनावमा बलियो प्रदर्शन गरेको थियो।

अधिकांश सर्वेक्षणहरुले भने मोदी र उनको दललाई सबैभन्दा अगाडि देखाएका छन्।

तर भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्ने सम्भावना पनि दर्शाइँदै छ।

सम्वाददाताहरुका अनुसार त्यस्तो स्थितिमा सरकार गठनका निम्ति चुनावमा सहभागी अन्य क्षेत्रीय दलहरुको महत्वपूर्ण भूमिका हुनसक्छ।