'कुपोषण: धनीलाई छाड्दै, गरिवलाई सताउँदै'

  • 8 एप्रिल 2014
एकजना पसले तस्वीर कपीराइट BBC World Service
Image caption बाँकी विश्वमा झै नेपालमा पनि धनी अति पोषण र गरिव कुपोषणको शिकार हुने गरेका छन्

सरकारले बालबालिकाहरुमा कुपोषणको दर घटेको देखाए पनि अन्तर्राष्ट्रिय संस्थाका अधिकारीका अनुसार गरिव र निमुखका परिवारका केटाकेटीमा भने झनै बढेको छ।

स्वास्थ्य मन्त्रालयको 'जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११' मा कुपोषण घटेर ४१ प्रतिशतमा झरेको उल्लेख छ।

प्रत्येक पाँच वर्षमा हुने जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणले पाँच वर्षभन्दा मुनिका बालबालिकामा कुपोषणको दर घटेको देखाएको हो।

उल्टो

बालबालिका सम्बन्धी काम गर्ने अन्तराष्ट्रिय संस्था सेभ द चिल्ड्रेनका भनाईमा उच्च वर्गका बालबालिकामा मात्रै कुपोषण घटेको छ।

उक्त संस्थाकी वरिष्ठ पोषण कार्यक्रम संयोजक निरा शर्माले भनिन्, "सन् २००१, २००६ र २०११ मा भएका सर्वेक्षणले कुपोषण घटेको देखाउँन् तर आर्थिक सम्पन्नताका हिसावले हेर्दा विपन्न समुदायका बालबालीकामा घटेको छैन्, उल्टो बढेको छ।"

उमेर अनुसार तौल र उचाई नबढे र उचाई अनुसार तौल नभए, बालबालिकामा कुपोषण भएको मानिन्छ।

बालबालिकामा कुपोषण हटाउन सरकारले हाल ४० जिल्लामा वहुक्षेत्रीय पोषण योजना लागू गरेको छ। जसअनुसार बालबालिकालाई पोषणयुक्त खाद्यान्न बाँड्ने समेत गरिन्छ।

पहुँच

कुपोषण घटाउन आवश्यक स्रोत साधनको अभाव भएकोले सोंचे जति काम गर्न नसकिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रविण मिश्र भन्छन्, "लगानी त कम थियो नै बहुपक्षिय समन्वय र स्रोत-साधनको अभाव छ, त्यसले गर्दा कार्यक्रम प्रभावकारी हुन नसकिरहेको हो।"

बालबालिकाको मस्तिष्क लगायत अन्य प्रमुख अङ्गहरुको झण्डै ८० प्रतिशत विकास दुई वर्षको उमेरमा हुने भएकोले सम्पन्न र विपन्न दुवै वर्गको पहुचमा पुग्ने गरी सरकारले पोषण सम्बन्धी कार्यक्रम लागू गर्नु पर्ने विज्ञहरुले सुझाएका छन्।