जलवायु परिवर्तनले जलविद्युतलाई असर

  • 10 एप्रिल 2014
climatechange तस्वीर कपीराइट Alexey Kalmykov
Image caption हावापानी परिवर्तनले गर्दा हिमालहरुमा रहेको हिउंको मात्रा क्रमिक रुपमा घट्ने बताइएको छ

हावापानी परिवर्तनको असरका कारण नेपालले आफ्नो समृद्धिसंग जोडेर हेर्ने गरेको जलविद्युत विकासमाथि गम्भीर चुनौती आइपर्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन्।

छिटोछिटो हिउं पग्लिँदा नयाँ हिमतालको निर्माण र विद्यमान हिमतालहरुको विस्फोट हुने खतराका कारण तल्लो भेगमा बनाइने जलविद्युत आयोजनाहरुमाथि खतरा टड्कारो रहेको उनीहरुको भनाइ छ।

हालै एउटा राष्ट्रसंघीय निकायको प्रतिवेदनले हिमनदी पग्लने क्रम तीव्र बन्दै जाने चिन्ताजनक तस्वीर प्रस्तुत गरेका बेला, हिमतालहरुको नियमित निगरानीदेखि लिएर जलविद्युत आयोजनाहरुको संरचना परिवर्तनसम्मका कदम तत्काल चाल्न आवश्यक रहेको उनीहरुले औँल्याएका छन्।

जोखिम

एउटा पछिल्लो अन्तर्राष्ट्रिय अध्ययनले नेपालका २० वटा हिमतालहरु जोखिममा रहेको र तीमध्ये आधादर्जन जति अत्यन्तै संवेदनशील रहेको देखाएको छ।

उक्त अध्ययन गरेको एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडका वरिष्ठ सल्लाहकार रमेश वैद्य भन्छन्, "२० मध्ये १६ वटा त कोशी बेसिनमै छन्। कोशी बेसिनमा थुप्रै जलविद्युत आयोजनाहरु बन्ने सम्भावना छ। त्यसैले हिमतालको नियमित निगरानी जरुरी छ।"

नयां संरचना

हिमतालको नियमित निगरानीसंगै हिमताल विस्फोटनबाट उत्पन्न हुने सक्ने समस्यासंग जुध्न जलविद्युत आयोजनाहरुको संरचनामा बदलाव ल्यानु जरुरी रहेको जलविद्युत विकासमा सक्रिय व्यवसायीहरुले बताएका छन्।

हिमताल विस्फोट भए पूर्वसूचना प्रणाली तथा बढी भएको पानी एवम् गेग्रान बगेर जान सक्ने संरचना भोटेकोशी जलविद्युत आयोजनाबाहेक अन्यमा छैन, न त प्रस्तावितहरुमा नै त्यसबारे ध्यान दिएको देखिन्छ।

एक जना व्यवसायी ज्ञानेन्द्रलाल प्रधान भन्छन्," सानातिनो क्षतिबाहेक हिमताल विस्फोट भएर जलविद्युत आयोजना बगाएको रेकर्ड छैन। तर ठूला स्टोरेज प्रोजेक्टहरु बनाउंदा पानी कसरी बाइपास गर्ने भन्ने सोच्नु जरुरी भइसकेको छ।"

जलउपलब्धता

एकातिर हिमतालको खतरा छंदैछ अर्कोतिर दीर्घकालमा हिमनदी धेरै पग्लिसकेपछि पानीको कमी हुने र त्यसका कारण जलविद्युतको लक्षित उत्पादकत्वमै ह्रास आउने केही विज्ञहरुको मत छ।

त्यस्तै मध्येका एक, पानीविज्ञ अजय दीक्षित भन्छन्, "हिउं पग्लंदै पग्लदैं गएर पछि हिउं परेन भने के हुन्छ? पानीमा कमी आउंछ जसले गर्दा विद्युत उत्पादनमा कमी आउंछ।"

यी यस्ता चुनौतीहरु सम्बोधनका लागि पूर्व तयारी अहिलेदेखिनै नथाले देशले भविष्यमा छिमेकि भारतमा उर्जा निर्यात गरेर पैसा कमाउन राखेको लक्ष्य पूरा हुनु त परै जाओस् वर्तमानमा सामना गरिरहेको दैनिक १२ घण्टासम्मको लोडसेडिँगको समस्यापनि अझै चर्किन सक्ने बताइन्छ।