राजनीतिक संयन्त्रबारे विवाद कायमै

  • 13 एप्रिल 2014
Image caption राजनीतिक संयन्त्र गठनबारे सत्तारुढ दलहरु एक ठाउँमा उभिदा एकीकृत माओवादी एक्लिएको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न नहुनेमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले एकमत रहेको कांग्रेसका एक जना नेताले बताएका छन्।

राजनीतिक संवाद समितिको नेतृत्वका लागि दाबी गर्दै आएको एकीकृत माओवादीका नेताहरुले भने संक्रमणकाल नटुङ्गिएकोले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने धारणा राख्दै आएका छन्।

संविधानसभाका समितिहरुको नेतृत्व चयनबारे छलफल गर्न आइतबार बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने वा नगर्ने विषयमा प्रमुख तीन दलबीच मतभेद देखिएको हो।

संक्रमणकाल

प्रमुख विपक्षी एकीकृत माओवादीले संक्रमणकाल जारी रहेको भन्दै आइलाग्न सक्ने विवादहरुको टुङ्गो लगाउन उक्त संयन्त्र गठन गरिनुपर्नेमा जोड दिएको माओवादी नेताहरुले बीबीसीलाई बताएका छन्।

सत्तारुढ कांग्रेस र एमालेका नेताहरुले संविधानसभाकै राजनीतिक संवाद समितिले नै सबै विवाद मिलाउन सक्ने भन्दै राजनीतिक संयन्त्र आवश्यक नभएकोमा जोड दिएका छन्।

बैठकमा सहभागी कांग्रेस उपभापति रामचन्द्र पौडेलले भने, ‘’ राजनीतिक संयन्त्र अहिले बन्ने संभावना छैन, बरु राजनीति समितिको नेतृत्व माओवादी अध्यक्षलाई दिन सकिन्छ।‘’

संविधानसभा निर्वाचनपछि समीकरण फेरिएको सन्दर्भमा प्रमुख तीन दलबीच भएको चार बुँदे सहमतिमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिने उल्लेख छ।

संयन्त्र

तर संविधानसभा बाहिर त्यस्ता संयन्त्र गठन गरिए अघिल्लो संविधानसभा झै यसपालि पनि प्रक्रियाबाट केही गर्न नसकिने भन्दै त्यसको आलोचना हुँदै आएको छ।

यद्यपि एमालेका सचिव विष्णु पौडेलले त्यस्तो राजनीतिक संयन्त्र गठन हुने वा नहुनेबारे अहिले नै केही भन्न नसकिने बताए।

उनले भने, ‘’दलहरुबीचको सहमतिका आधारमा राजीतिक संयन्त्र बन्न पनि सक्छ वा नबन्न पनि सक्छ।‘’

संविधानभाका समितिहरुको नेतृत्वबारे टुङ्गोमा पुग्न नसकेका दलहरुले सहमतिको प्रयास जारी राख्ने र सहमति हुन नसके ५ गतेभित्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिने बताएका छन्।