नाइजेरियामा बम हमलामा ठूलो हताहति

  • 14 एप्रिल 2014
विष्लोट पछिको दृश्य तस्वीर कपीराइट AFP
Image caption बिहानको व्यस्त समयमा शक्तिशाली विष्फोटहरु गराइएको थियो

नाइजेरियाका अधिकारीहरुले भनेका छन्, राजधानी अबुजाको बाहिरी भेगमा रहेको एउटा बस स्टेशनमा गराइएका दुईवटा बम विष्फोटनमा कम्तीमा सत्तरी जनाको ज्यान गएको छ भने एकसय बीसजना भन्दा बढी घाइते भएका छन्।

न्यान्या बस स्टेशनमा शहरतर्फ जान लागेका मानिसहरुको भीड भएको बेला उक्त विष्फोट गराइएको थियो।

ती हमलाको कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामवादी उग्रवादी समूह बोको हरामले उक्त हमला गराएको हुनसक्ने आशँका गरिएको छ।

विष्फोट

सोमबार बिहान व्यस्त समयमा कामको लागि राजधानी तर्फ जान मानिसहरुले बस तथा ट्याक्सीहरु पर्खीरहेको बेला उक्त विष्फोट गराइएको थियो।

विष्फोटनपछि घटनास्थल पुगेका बीबीसीका एकजना संवाददाताले त्यहाँ झण्डै चार फिट गहिरो खा्ल्डो परेको जनाए।

विष्फोटनमा परी दर्जनौं मानिसहरुको ज्यान गएको र अरु कैयौं घाइते भएको बताइएको छ।

बीबीसीसँग कुरा गर्दै एकजना प्रत्यक्षदर्शी बादाम्सी न्यान्याले आफुले कम्तीमा चालिसवटा शवहरु त्यहाँबाट लगिँदै गरेको देखेको बताए।

हताहतिको संख्या अरु बढ्न सक्ने आशँका गरिएको छ।

अर्का एकजना प्रत्यक्षदर्शीले भने, “यो निकै भयावह थियो। हामी ज्यान बचाउन यताउता भाग्यौं। मेरो विचारमा उनीहरुले कुनै किसिमले एउटा बसभित्रै विष्फोटक पदार्थ राखेको हुनुपर्छ। हामीले एम्बुलेन्सहरुमा लाशहरु अस्पतालतर्फ लगेको देख्यौं।”

जिम्मेवारी

ती हमलाको कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामवादी उग्रवादी समूह बोको हरामले उक्त हमला गराएको हुनसक्ने आशँका गरिएको छ।

लागोसस्थित बीबीसीका संवाददाता विल रसले उत्तरपूर्वी नाइजेरियाका तीनवटा राज्यहरुमा बोको हरामका लडाकुहरुले यो बर्ष पन्ध्रसयभन्दा बढीको ज्यान लिएको जनाएका छन्।

बोको हरामले राजधानी अबुजामा पटक पटक हमला गरेको छ। सन् २०११ मा उसले एउटा राष्ट्र संघीय भवनलाई निशाना बनाएको थियो।

नाइजेरिया सरकारले हिंसा देशको उत्तरपूर्वी क्षेत्रको सानो भूभागमा सीमित रहेको बताउँदै गर्दा पछिल्ला हमलाहरु गरिएका हुन्।