‘संसदको वैठक अवरुद्ध हुन सक्छ’

  • 16 एप्रिल 2014
संविधानसभा एवं संसद
Image caption एमाओवादी र सत्तारुढ दलबीचको विवादले संविधान निर्माण प्रभावित होला भन्ने चिन्ता बढेको छ

बुधबार विहान एकीकृत माओवादीको संसदीय दलको बैठकले त्यसबारे ठोस निर्णय गर्ने उनको भनाइ छ।

सरकारका प्रवक्ताले भने गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीहरुमाथि कानूनी कारवाही थालिएको विषयलाई लिएर संसदको वैठक अवरुद्ध गर्नु अनुचित हुने बताएका छन्।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको झण्डै दश वर्षअघि भएको हत्यामा संलग्न भएको आरोपमा माओवादी कार्यकर्तामाथि सरकारले मुद्दा चलाएको विरोधमा बुधबार संसदको बैठक अवरुद्ध पार्न सक्नसम्मको प्रतिक्रिया आउन सक्ने एकीकृत माओवादीका नेता गिरीराजमणि पोखरेलले बताए।

“सरकारले यदि आफ्नो गतिविधीलाई सच्याएन भने संसदको वैठक अवरोध गर्ने तहसम्म पनि पुग्न सक्छ।”

तर संसदीय दलको वैठकले त्यसबारे ठोस निर्णय गर्ने उनले बताए।

‘अनुचित’

सरकारका प्रवक्ता मिनेन्द्र रिजालले संसद अवरुद्ध पार्ने कार्य अनुचित हुने बताए।

“संसदीय कारवाही अवरुद्ध गर्यो भने त विधेयक ल्याउने र ऐन बनाउने प्रक्रियामा झन ढिलाइ हुनेछ, त्यसैले चाँडो गर्यो भने यस्ता समस्याबाट मुक्ती मिल्छ।”

“त्यसैले संसदको वैठक अवरुद्ध पार्ने काम अनुचित हुन्छ भन्ने हामीलाई लाग्छ।”

मंगलबारको सर्वदलीय बैठकमा एकीकृत माओवादी सामेल भएन।

त्यस्ले गर्दा प्रतिपक्षमा रहेको एकीकृत माओवादी र सत्ता पक्षबीचको दूरी अझै बढ्दै गएको देखिन्छ।

त्यसबाट संविधान निर्माणका विषय पनि प्रभावित हुने चिन्ता बढेको छ।