क्रिकेट खेलाडीहरु मैदान फर्कने संकेत

  • 17 एप्रिल 2014
एक खेलाडी तस्वीर कपीराइट bbc
Image caption नकारात्मक असर पर्ने बुझेका खेलाडीहरु पछिल्लो वार्तामा सहमतिको पक्षमा देखिएका हुन्

नेपाल क्रिकेट संघले आफ्नो आधारभूत आवश्यकता समेत पुरा नगरेको भन्दै राष्ट्रिय प्रतियोगिता नै वहिष्कार गरेर नयाँ क्रिकेट संघको माग गरेका खेलाडीहरुले नयाँ सर्वपक्षीय समितिले खेलाडीको समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।

बुधबार आठ घन्टासम्म चलेको वार्तामा नेपाल क्रिकेट संघ नै विघटन हुनुपर्छ भन्ने माग राख्दै आएका खेलाडीहरु लचिलो बन्दै ५ सदस्यीय योजना तथा निर्माण कमिटी बनाउनमा सहमत भएका थिए।

त्यसको कारण बारे कप्तान पारस खड्काले भने, “हामीले बुझ्दै जाँदा नेपालको कानून अनुसार कसैले पनि क्रिकेट संघ प्रधानमन्त्री ज्यूले पनि विघटन गर्न नमिल्ने रहेछ।”

नयाँ कमिटी नेपाल क्रिकेट संघभन्दा माथि वा अधिकार सम्पन्न छुट्टै निकाय भने होइन।

‘अनुगमन’

त्यसले क्रिकेटमा देखिएको वर्तमान समस्याको समाधान गर्न र उचित योजना बनाउन संघलाई सघाउने बताइएको छ।

कमिटीले तत्कालै खेलाडीहरुले राखेको १० बुँदे माग समाधान गर्ने र दीर्घकालीन रुपमा ठुला योजनाहरु कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ।

सदस्य सचिव युवराज लामाको संयोजकत्वमा गठित सो कमिटीमा खेलाडी, प्रशिक्षक, क्रिकेट संघ र खेलकुद मन्त्रालयका एक एक जना प्रतिनिधि राखिएको छ।

कमिटीका संयोजक युवराज लामाले भने,“यस्मा आवश्यक परे सदस्यहरु पनि थपिने छ, कमी कमजोरी भएका कुरालाई मनन गर्ने र निर्णयलाई कार्यान्वयन गरिनेछ।”

सहमतिपछि राष्ट्रिय टोलीले अहिले काठमाण्डू र पोखरामा संचालन भइरहेको राष्ट्रिय प्रतियोगिता खेल्ने ढोका खुलेको छ भने दुई हप्तापछि मलेसियामा हुने एसीसी प्रिमियर लिग एकदिवसिय प्रतियोगितामा सहभागिताको अन्तिम नामावली पठाउने कार्य पनि अघि वढ्ने देखिएको छ।

बंगलादेशमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर फर्किनासाथ नेपाली क्रिकेटमा देखिएको यो विवादले समग्र क्रिकेटमै नकारात्मक असर परेको चिन्ता व्यक्त भइरहेको थियो।

तर त्यो कुरालाई मनन गरेका खेलाडीहरु पछिल्लो वार्तामा सहमतिको पक्षमा देखिएका थिए।

खेलाडीहरु भन्छन् सहमतिले क्रिकेट सहिप बाटोमै फर्किनेछ।