विपक्षी दलहरुबीच गठबन्धन निर्माणको पहल

  • 19 एप्रिल 2014
Image caption एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मोर्चा निर्माणका लागि पहल थालेको बताइएको छ

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा शनिबार आयोजित संसदका विपक्षी दलका नेताहरुको बैठकमा विपक्षी मोर्चा गठनबारे छलफल भएको सहभागी नेताहरुले बताएका छन्।

पहिचान र संघीयता तथा शान्ति प्रक्रियाबारे सत्तारुढ शक्तिलाई कसरी चुनौती दिने भन्ने बैठकको ध्याउन्न रहेको संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले बताए।

उनले भने, ‘’सत्तारुढ दलहरु सहमतिभन्दा पनि पेलेर जाने जस्तो देखिएका छन्। पहिचानसहितको संघीयता र शान्ति प्रक्रियाबारे छलफल भयो।‘’

गठबन्धन

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले संविधानसभाबाट सहमति हुन नसक्ने विषयलाई जनमत संग्रहबाट टुङ्ग्याइने बताइरहेका बेला एकीकृत माओवादी र मधेश केन्द्रित दलहरुले गठबन्धन निर्माणबारे परामर्श थालेका हुन्।

बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठबन्धनको स्वरुप लगायतका विषयमा आगामी बैठकमा छलफल गरिने बताए।

उनले भने, ‘’गठबन्धनको स्वरुप र त्यससँग जोडिएका अन्य विषयमा आगामी बैठकमा छलफल हुनेछ।‘’

साझा मुद्दाहरुका लागि गठबन्धन निर्माण गर्ने आफुहरुको उद्देश्य रहेको एमाओवादी नेता पोष्टबहादुर बोगटीले बताए।

बोगटीले भने, ‘’निर्वाचन प्रक्रियाबाट सबै कुरा टुङ्ग्याइने कुराले गठबन्धन बनाउने अवस्था सृजना गरेको छ।‘’

पहिचान

पहिचानसहितको संघीयता लगायतका एजेण्डा स्थापित गराउने भन्दै एकीकृत माओवादी, मधेश केन्द्रित लगायत दलहरुले अघिल्लो संविधानसभामा संयुक्त मोर्चा बनाएर सरकार चलाएका थिए।

शनिबार भेला भएका विपक्षी दलको कूल प्रतिनिधित्व संख्या अहिलेको संविधानसभामा एक चौथाइ पनि नपुग्ने भएकाले त्यस्तो मोर्चा गठन भइहाले पनि संविधान लेखनक्रममा उठ्ने मुद्दाहरु मतदानमा लग्ने बित्तिकै खासै अर्थ नराख्ने बताइन्छ।

तर अधिकांश विपक्षीहरु एक ठाउँमा उभिँदा सत्तापक्षलाई नैतिक दबाब पर्न सक्ने ठानिएको छ।