सर्वोच्चमा न्यायाधीश 'सिफारिसको तयारी’

  • 21 एप्रिल 2014
सर्वोच्च अदालत
Image caption सर्वोच्चमा मुद्दाको चाप हेरी अस्थायी न्यायाधीश समेत नियुक्त गर्न सकिने व्यवस्था छ

सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिको लागि सोमबार बस्ने न्याय परिषदको बैठकले सिफारिस गर्ने उक्त परिषदका प्रवक्ताले बताएका छन्।

परिषदका प्रवक्ता खेमनारायण ढुंगानाका अनुसार सकेसम्म दश जना न्यायाधीशकै नियुक्तिको लागि सिफारीस गरिने छ।

अस्थायी न्यायाधीश भने आवश्यकता अनुसार पछि सिफारीस गरीने उनको भनाई छ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा १०३ अनुसार न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने प्रावधान छ।

प्रावधान

सर्वोच्चको न्यायाधीश हुन पुनरावेदन अदालतको न्यायाधीश वा सो सरह न्याय सेवाको पदमा कम्तिमा सात वर्ष काम गरेको अनुभव हुनुपर्छ।

त्यस्तै न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको वा अधिवक्ता वा वरिष्ठ अधिवक्ताको रुपमा कम्तिमा १५ वर्ष वकालत गरेको वा सोही अवधीसम्म काम गरी कानूनवीदका रुपमा ख्याती प्राप्त ब्यक्ति हुनु पर्छ।

सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सहित १५ जना स्थायी न्यायाधीश हुनु पर्नेमा हाल पाँच जना मात्रै रहेको अवस्थामा सकभर आजै, न्याय परिषदले स्थायी न्यायाधीश नियुक्तीको लागि नाम सिफारिस गर्ने परिषदका सदस्य समेत रहेका प्रवक्ता खेमनारायण ढुंगानाले बताए।

“सम्भावना नियुक्ती गर्नेतिर छ, दश जना सकिन्छ भने दशै जना, नत्र सात, आठ वा नौ जना पनि हुन सक्छ।”

योग्यता पुगेका मध्येबाट हाल स्थायी न्यायाधीश नियुक्तिको सिफारिस गरे पनि अस्थायीको हकमा ढिलो हुने प्रवक्ता ढुंगानाले बताए।

'सिफारिस'

“मुख्य न्यायाधीशहरुबाट पहिलो चरणको निम्ति नियुक्तीको लागि सिफारिस गर्छौं।”

सर्वोच्चमा मुद्दाको चाप हेरी अस्थायी न्यायाधीश समेत नियुक्त गर्न सकिने व्यवस्था छ।

बाधा अड्काउ फुकाउ आदेश मार्फत एक वर्षअघि नियुक्त भएका पाँच जना अस्थायी न्यायाधीस झण्डै दुई साताअघि बाहिरिएपछि न्यायाधीशको अभावमा न्याय सम्पादनमा ढिलाई भईरहेको गुनासोका माझ स्थायी न्यायाधीश नियुक्तीका लागि यो सिफारीस हुन लागेको हो।