‘क्राइमियाको विलयलाई मान्यता दिन्नौं’

  • 22 एप्रिल 2014
तस्वीर कपीराइट AP
Image caption अमेरिकी उपराष्ट्रपति जो बाइडेनको अभिव्यक्तिप्रति रुसले कुनै प्रतिक्रिया जनाइसकेको छैन

रुसले अवैधरुपमा क्राइमिया ओगटेको भन्दै अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकाले त्यसलाई कहिल्यै पनि मान्यता नदिने बताएका छन्।

युक्रेनको अन्तरिम सरकारलाई वासिङ्गटनको बलियो समर्थन रहेको रुपमा दर्शाउने उद्देश्यले उनको भ्रमण तय भएको बताइएको छ।

बाइडेनले युक्रेनमा जारी तनाव मत्थर पार्नका लागि रुसले कुरा गर्न छाडेर काम गर्नुपर्ने बताएका छन्।

उनी कियभमा युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनि यात्सेन्युकसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै थिए।

चेतावनी

थप उत्तेजनात्मक व्यवहारले रुसलाई अझ एक्ल्याउने चेतावनी दिदै बाइडेनले पूर्वी युक्रेनमा रुस समर्थक लडाकुहरुलाई गरिरहेको भनिएको सहयोग रोक्न आग्रह गरे।

यसैबीच, आइतबार गोली हानी हत्या गरिएका तीन जनाको अन्त्येष्टि गरिएको छ।

पूर्वी युक्रेनको स्लोभियान्स्क शहरस्थित रुस समर्थक पृथकतावादीहरुले खडा गरेको चेकपोष्टमा आक्रमण हुँदा उनीहरु मारिएका थिए।

घटनाको परिस्थिति अझै अस्पष्ट छ।

स्थानीय पृथकतावादीहरुले उग्रराष्ट्रवादी राइट सेक्टरका लडाकुहरुले आक्रमण गरेको बताएका छन्।

कियभले भने त्यसलाई रुसको विशेष सुरक्षा बलले गरेको उत्तेजनात्मक कार्यको संज्ञा दिएको छ।

समर्थन

यसअघि युक्रेनका सांसदहरुलाई गरेको संबोधनमा अमेरिकी उपराष्ट्रपति बाइडेनले स्पष्ट रुपमा रुसलाई इङ्गित गर्दै अपमानजनक धम्कीविरुद्ध अमेरिका युक्रेनको नयाँ नेतृत्वसँगै उभिने बताए।

उनले भने, ‘’युक्रेन आफ्नो भविष्यका लागि संघर्षरत छ। हामी अमेरिका तपाई र युक्रेनका सम्पूर्ण जनतासँग र संयुक्त युक्रेनको पक्षमा उभिन्छौं र क्राइमियामा गरिएको रुसी कदमलाई हामीले कहिल्यै पनि मान्यता दिन्नौं।‘’

उनले आर्थिक र राजनीतिक सुधारका लागि अमेरिकाले युक्रेनी सरकारलाई थप पाँच करोड डलर सहायता उपलब्ध गराउने घोषणा गरे।

पश्चीमा समर्थनप्राप्त कियभ सरकारले सुधारका लागि थालेको प्रयासप्रति उच्चस्तरीय समर्थन दर्शाउनका निम्ति राष्ट्रपति बाराक ओबामाले आफ्ना उपराष्ट्रपति बाइडेनलाई युक्रेनको दुई दिने भ्रमणमा पठाएको जनाइएको छ।