सिरियामा चुनाव घोषणाको आलोचना

  • 22 एप्रिल 2014
सिरिया तस्वीर कपीराइट Reuters
Image caption विगत दश वर्ष देखि सिरियामा बसोबास गरिरहेका उम्मेदवारहरुले मात्र चुनावमा भाग लिन पाउने नयाँ कानून बनाइएको छ

सिरिया चुनाव घोषणा लगत्तै अमेरिकी विदेश मन्त्रालयले उक्त चुनावले प्रजातन्त्रको खिल्ली उडाउने प्रतिक्रिया दिएको छ।

सो चुनावमार्फत राष्ट्रपति बसर अल-असद आफ्नो तेस्रो सात वर्षे कार्यकाल खोज्दैछन्।

सिरियामा राष्ट्रपतिय चुनाव घोषणाको ब्रिटेनले पनि पनि आलोचना गरेको छ।

चिन्ताहरु

ब्रिटिश विदेश मन्त्रालयले सो चुनाव बसर अल-असदको अधिनायकवादलाई कायमै राख्न रचिएको प्रपञ्च भएको प्रतिक्रिया दिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले सो चुनावले सिरियाको द्व्न्द्वको राजनीतिक समाधान खोज्ने प्रयासहरुलाई प्रभावित पार्ने चेतावनी दिए।

तीन वर्ष देखि सिरियामा चर्किएको गृह युद्धमा १ लाख ५० हजार व्यक्तीको ज्यान गइसकेको छ।

पछिल्लो समयमा सिरियाका सरकारी फौजहरुले केहि प्रगति हासिल गरेका छन् तर पनि अधिकांस भूभागमा विद्रोहीहरुको नियन्त्रण कायम छ।

ती क्षेत्रहरुमा मतदान हुने सम्भावना न्युन छ।

सरकारले हालै विगत दश वर्ष देखि सिरियामा बसोबास गरिरहेका उम्मेदवारहरुले मात्र चुनावमा भाग लिन पाउने प्रावधान राख्दै एउटा कानून बनाएको थियो।

बीबीसीकी प्रमुख अन्तराष्ट्रिय सम्वाददाता लिज डुसेट भन्छिन् “सिरियाभित्रको विभाजन यति गहिरो र खतरनाक छ, चुनावले केहीलाई अर्थ राख्ने देखिएपनि अरुलाई त्यो निकै जटिल देखिन्छ।”

उनका अनुसार विपक्षीहरुले चुनावलाई प्रजातन्त्रको खिल्ली भनेका छन्।

सिरियाका लागि राष्ट्रसंघीय दूत लखदर ब्राहीमीले पनि चुनाव भइहाल्यो भने विपक्षीहरुले सम्भवत सरकारसंग वार्ता गर्ने छैनन्।