'घरेलु श्रमिकको संरक्षण गर्न कतार विफल'

  • 23 एप्रिल 2014
Image caption कतारमा श्रमिकहरुको दयनीय अवस्था बारे सरकारी चासो फितलो भएको भन्दै आलोचना हुने गरेको छ

जबर्जस्ती श्रम र शारीरिक एवम् यौनजन्य हिंसा जस्ता गम्भीर शोषणमा परेका दशौं हजार आप्रवासी घरेलु श्रमिकहरुको उचित संरक्षण गर्न कतार विफल भइरहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेशनलले जनाएको छ।

बुधबार एक विश्वव्यापी प्रतिवेदन सार्वजनिक गर्दै उसले विश्वकै धनीमध्येको उक्त खाडी देशमा कामगर्न विदेशबाट गएका घरेलु श्रमिकहरुको अवस्था कहालीलाग्दो रहेको उल्लेख गरेको छ।

लाखौं नेपाली कामदारहरु रहेको कतारमा केही हजारको संख्यामा नेपाली महिला घरेलु श्रमिकको रुपमा समेत रहेको ठानिन्छ।

व्यापक

घरेलु कामदारहरुलाई झुठा वाचाहरु गरेर बताइएको भन्दा अर्कै काममा लगाइने, समयमा तलब नदिने वा दिँदै नदिने वा अझ कट्टि गरिदिने, राहदानी कब्जामा लिनेजस्ता गम्भीर ज्यादतीहरु व्यापक र प्रणालीगत रुपमा हुने गरेको एमनेष्टिको रिपोर्टले देखाएको छ।

स्थलगत अध्ययन गरी तयार पारिएको उक्त प्रतिवेदन अनुसार कूल घरेलु श्रमिकमध्ये एक चौथाई दिनको १५ घण्टाभन्दा धेरै समय काम गर्न वाध्य छन्।

कतिले शारीरिक तथा यौन हिँसाको शिकार बन्नु परेको छ।

यदि त्यस्ता ज्यादतीको उजुरी गरिए उजुरीकर्ता महिलाहरुलाई नै अवैध सम्बन्धको अभियोग लाग्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्ता ज्यादतीहरु सरासर अस्वीकार्य रहेको एमनेष्टिको भनाइ छ।

“विश्वको सबभन्दा धनी देशहरुमध्येको एक कतारमा यसरी श्रमिकहरुलाई निर्दयी तवरले शोषण गरिनु, पारिश्रमिक भुक्तानी नदिनु र बाँच्नका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पु-याइनु सरासर अस्वीकार्य छ,” प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टि नेपालका अध्यक्ष शम्भु ठाकुरले भने।

सरकार ‘जानकार’

उक्त प्रतिवेदनका अनुसार विशेष गरी दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुका कम्तीमा ८४ हजार महिला घरेलु श्रमिकको रुपमा कतारमा कार्यरत छन्।

कफाला भनिने स्पन्सर प्रणाली अन्तर्गत ती श्रमिकहरुलाई आफ्नो काम छाड्न वा घर फर्कन समेत बन्देज लगाइने गरेको प्रतिवेदनले जनाएको छ।

यस्तो स्थितिबारे नेपाल सरकार जानकार रहेको अधिकारीहरु बताउँछन्।

“हामीले पनि उद्धार गरिएका अनि दूतावास आदिबाट आएको जानकारीबाट बुझ्दा घरेलु कामदारहरुको अवस्था दयनीय रहेको छ भन्ने सुनेका छौं। यसका निम्ति सबै सरोकारवाला निकाय अनि दुई देशबीच कूटनीतिक माध्यमबाट यसको समाधान गर्न कदम चाल्नुपर्छ भन्ने लाग्छ,” वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीले भने।

संसारका अन्य मुलुकमा जस्तै काठमाण्डौँमा पनि एमनेष्टिले ‘मेरो सुताई नै मेरो विश्राम हो’ नामक कतारमा आप्रवासी घरेलु श्रमिकहरु उपरको शोषण चित्रण गरिएको रिपोर्ट सार्वजनिक गरेको हो।