हमास र फताहवीच सहमति

  • 24 एप्रिल 2014
तस्वीर कपीराइट Getty
Image caption नयाँ सहमतिको स्वागत गर्दै गाजामा प्रदर्शनहरु भएका थिए

प्यालेस्टाइनमा एक अर्काका विरोधीका रुपमा रहेका फताह र हमासबीच वर्तमान राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा अन्तरिम सरकार बनाएर चुनावमा जाने सहमति भएको छ।

सो सहमतिले मध्य पूर्वमा जारी शान्ती वार्तामा गम्भीर जटिलता ल्याउन सक्ने निष्कर्ष अमेरिकी विदेश मन्त्रालयको छ।

गाजामा भएको वार्तामा दुवै पक्षका प्रतिनिधिहरुले मेलमिलाप गर्ने निर्णय गरेका थिए।

पछिल्लो सहमति अनुसार राष्ट्रपति अब्बासकै नेतृत्वमा ५ हप्ताभित्र अन्तरिम सहमतिको सरकार बन्ने छ जसले ६ महिना भित्र संसदीय चुनाव गराउने छ।

मेलमिलाप

सन् २००७ मा हिंसात्मक रुपमा विभाजित भएका हमास र फताहविच विगतमा भएका मेलमिलाप सम्बन्धी सहमति लागु भएका थिएनन्।

पछिल्लो घोषणा प्रति आक्रोश व्यक्त गर्दै इजरेलले बुधवारका लागी निर्धारीत प्यालेस्टाइनसँगको वार्तामा आफू सहभागी नहुने बताएको छ।

इजरेली प्रधानमन्त्री बेन्हामिन नेतान्याहूल प्यालेस्टाइनी राष्ट्रपति अब्बासलाई इजरेल वा हमास मध्ये एकसँग शान्ती रोज्नुपर्ने बताए।

उनले चेतावनी दिदैँ भने, “दुईमध्ये एउटामात्र पाउन सम्भव छ, अहिलेसम्म नरोजेपनि अब उनीहरुले शान्ती रोज्छन् भन्ने मलाई लागेको छ।”

अमेरिका, युरोपेली संघ इयू र इजरेलले हमासलाई आतंकवादी संगठनको रुपमा हेर्ने गरेका छन्।

अमेरिकाले दुई समुह विचको सहमतिले मध्य पूर्वमा जारी शान्ती वार्ता अनिश्चयमा पारेको भन्दै चिन्ता व्यक्त गरेको छ।

वासिङटनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जान शाकीले दुई समुहबिचको सहमतिले निरास तुल्याएको र निक्कै अप्ठेरो समयमा पछिल्लो निर्णय आएको बताइन्।

'अन्तरिम'

प्यालेस्टाईनी अधिकारीहरुले मेलमिलापको पछिल्लो निर्णय आन्तरिक मामिला भएको र यसले देशमा शान्ती कायम गर्न बल पुर्याउने बताएका छन्।

उसले पछिल्लो सहमतिले वार्ताको टेबुलमा राखिने आफ्नो दृष्टीकोणलाई थप मजबुत बनाउने बताएको छ।

राष्ट्रपति अब्बासले आफ्नो फताह पार्टीको एउटा प्रतिनिधिमण्डललाई हमाससँग वार्ता गर्न गाजा पठाएका थिए।

गाजामा रहेको हमास समर्थित सरकारका प्रमुख इस्मइल हाँनियाले पछिल्लो सहमतिले सम्भावनाको ढोका खोलेको बताए।

उनले भने, “यो हामीले हाम्रा जनतालाई दिएको खुसीको समाचार हो, अब फुटको युगको अन्त्य भएको छ।”

दुई पक्षबीचको सहमति सार्वजनिक भएपछि हजारौं मानिसहरु गाजाँ शहरमा जम्मा भएर खुसीयाली मनाएका थिए।