युक्रेनी हवाई क्षेत्रमा रुसी सैन्य जहाज प्रवेश गरेको अमेरिकी आरोप

  • 26 एप्रिल 2014
तस्वीर कपीराइट Reuters
Image caption किएभले पृथकतावादीहरु बिरुद्ध पूर्वी युक्रेनमा सेना परिचालन गरेको छ

अमेरिकाले रुसका सैनिक हवाई जहाजहरु पछिल्लो चौबिस घण्टामा निरन्तर युक्रेनी हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै त्यसलाई खतरनाक र उत्तेजक गतिविधिको संज्ञा दिएको छ।

तत्काल तनाव कम गर्न भूमिका नखेले युरोपेली संघसँग मिलर रुसमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने चेतावनी उसले दिएको छ।

पूर्वी युक्रेनमा बस्ने रुसी भाषाको सुरक्षाको माग गरिरहेको मस्कोले युक्रेनलाई देशको पूर्वमा जारी सुरक्षा कार्वाही रोक्न माग गरेको छ।

पेन्टागन

पेन्टागनका एक जना प्रवक्ताले रुसी सैनिक हवाइ जहाजका गतिविधि युक्रेनसँगको सिमामा कयौं पटक देखिएको बीबीसीलाई शुक्रबार बताए पनि विस्तृत विवरण दिएनन्।

एउटा विज्ञप्ति निकालेर पेन्टागनले युक्रेनमा जारी तनाव कम गर्न तत्काल कदम चाल्न अमेरिकाले गर्दै आएको आग्रह दोहोर्याएको छ।

अमेरिकी रक्षामन्त्री चक हेगेलले आफ्ना रुसी समकक्षीसँग सो बिषयमा कुराकानी गर्न चाहेपनि रुसबाट कुनै जवाफ नपाएको सो विज्ञप्तिमा उल्लेख छ।

त्यसअघि स्लोभियान्सक शहर नजिकैबाट अन्तराष्ट्रिय पर्यवेक्षकहरु चढेको एउटा बस रुस समर्थक पृथकतावादीहरुले कब्जा गरेको युक्रेनी अधिकारीहरुले बताएका थिए।

युरोपको क्षेत्रीय सुरक्षा संगठन ओएससिइसँग आवद्ध रहेको भनिएको सो समुहमा जर्मनका सैनिक पर्यवेक्षक र डेनमार्क, पोल्याण्ड, स्वीडेन र चेक गणतन्त्रका प्रतिनिधीहरु थिए।

एक जना रुस समर्थक नेताले सो समुहमा युक्रेनी सरकारको एउटा जासुस पनि रहेको हुनाले उनीहरुलाई बन्धक बनाइएको बताए।

जर्मनले कुटनीतिक माध्यमबाट उनीहरुलाई छुटाउन पहल गर्ने बताएको छ।

प्रतिबन्ध

संयुक्त राज्य अमेरिका र युरोपेली संघले मस्कोले पूर्वी युक्रेनमा तनाव कम गर्न सहयोगी भुमिका नखेलेमा छिटोमा सोमबारसम्म रुसमाथि थप प्रतिबन्धहरु लगाउने तयारी गरेका छन्।

उक्त प्रतिवन्ध व्यक्ति र संघसस्था दुवैमा लक्षित हुने बुझिएको छ।

पश्चिमा नेताहरुबीच दिनभर कन्फ्रेन्स कल मार्फत भएको छलफलपछि जर्मन च्यान्सलर एंगेला मर्केलले युरोपेली संघ आवद्ध विदेशमन्त्रीले चाँडो भन्दा चाँडो बैठक गरेर थप प्रतिबन्धहरुबारे छलफल गर्ने बताइन्।

उनले युक्रेनमा तनाव कम गर्न रुसले आफूले सक्ने भूमिका नखेलेको भन्दै चिन्ता व्यक्त गरिन्।

उनले भनिन्, “म पूर्ण रुपमा विश्वस्त छु कि रुससँग युक्रेनमा जारी पृथकतावादी गतिविधिहरुलाई शान्तीपूर्ण बाटोमा ल्याउने शक्ति छ र उसले चाहेमा त्यो गर्नसक्छ, तर अहिलेसम्म त्यस्ता कुनै संकेत देखिएका छैनन्।”

रुसले यसअघि नै युक्रेनसँगको आफ्नो सिमानामा दशौं हजार सैनिकहरु परिचालन गरेको छ र मस्कोको समर्थन गरिरहेका पृथकतावादीहरुले पूर्वी युक्रेनमा दर्जनौं भवनहरु कब्जा गरेका छन्।