दुइजना पूर्व पोप सन्त घोषित

  • 27 एप्रिल 2014
Image copyright
Image caption पोप फ्रान्सिसले दुइजना दिवृगत पूर्व पोपहरुलाई सन्त घोषणा गर्दा भ्याटिकनमा ठूलो भीड जम्मा भएको थियो

भ्याटिकनमा भएको एउटा अभुतपूर्व समारोहमा इशाइ धर्मगुरु पोप फ्रान्सिसले दुइजना पूर्व पोपहरु जोन तेइसौं र जोन पल दोस्रोलाई सन्त घोषणा गरेका छन्।

उनका पूर्ववर्ती पोप बेनेडिक्टले उक्त समारोहमा उपस्थिति जनाएका छन्।

दुइजना पोपलाई एकै समयमा सन्त घोषणा गरिएको यो पहिलो पटक हो।

तिनका ठूल्ठूला तस्बीर सेन्ट पीटर्स स्क्वायरतर्फ फर्काइएको छ।

समारोह हेर्न त्यहाँ मानिसहरुको ठूलो भीड लागेको छ।

फरक फरक मत राख्ने धर्माबलम्बीहरु पनि ठूलो संख्यामा जोन पल दोश्रोप्रति सम्मान व्यक्त गर्न त्यहाँ पुगेका छन्।

जोन पल दोश्रो र जोन तेइसौंलाई सन्त घोषणा गरिएको ऐतिहासिक समारोह हेर्न भ्याटीकन सीटीमा ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन्।

पोप फ्रान्सिस र उनका पूर्ववर्ती पोप बेनेडिक्ट सहभागी रहेको उक्त समारोहमा दश लाख जति धर्मावलम्वी प्रत्यक्ष सहभागी रहेको र ठूलो संख्यामा रेडियो र टेलिभिजनबाट पनि मानिसहरले हेरेको बताइएको छ।

शाही पाहुना र राज्य तथा सरकार प्रमुखहरु सहित करिब १०० विदेशी प्रतिनिधिहरु सहभागी छन्।

ऐतिहासिक

दुइजना पोपलाई एकैपटक सन्त घोषणा गरेको यो पहिलो पटक हो।

संवाददाताहरु भन्छन् कट्टरपन्थी र सुधारवादी समुहलाई एकीकृत गर्ने प्रयासका रुपमा पनि यसलाई हेरिएको छ।

रोमबाट बीबीसीका एलन जोनस्टन भन्छन् दुइहजार वर्ष पुरानो इतिहासमा क्याथलिक चर्चले एउटै समारोहमा दुइजना पोपलाई सन्त घोषणा गरेको देखेको थिएन।

दुइजना जीवित पोप फ्रान्सिस र उनका अवकाशप्राप्त पूर्ववर्ती बेनेडिक्ट उक्त समारोह संयुक्त रुपमा सहभागी भएका छन्।

'शाहसी मानव'

पोप फ्रान्सिसले उनको घोषणामा दुइजना सन्तलाई शाहसी मानवको संज्ञा दिँदै सम्मान व्यक्त गरेका थिए।

जोन पल दोश्रोको गृह देश पोल्याण्डका एकजना धर्मावलम्वीले भने, "हामीले यो दिनको प्रतीक्षा गरिरहेका थियौं। यो जीवनमा एकपटक मात्र अनुभव गर्न पाइने घटना हो।"

शनिबार भेटिकनले ८७ वर्षीय पोप एमिरेट्स पनि भनिने बेनेडिक्ट उत्तराधिकारी फ्रान्सिस सहित सार्वजनिक हुने कार्यक्रम रहेको जनाएको थियो।

बेनेडिक्ट लामो इतिहासमा स्वास्थ्यलाई कारण बनाउदै राजिनामा दिने पहिलो पोप थिए।

सन्त बनाउने प्रक्रिया धेरै लामो र महँगो छ।

तर जन पल दोश्रोको २६ वर्षे कार्यकाल सन २००५ मा मात्र अन्त्य भएको थियो र उनलाई नौ वर्षमै सन्त बनाउन प्रक्रियालाई छोट्याइएको थियो।

'सन्त'

उनको शब देख्दा ठूलो भिडले 'सन्त' भनेर कराएका थिए।

तर त्यसको विपरित इटलीमा जन्मेका जोन तेइसौंलाई सन्त घोषणा गर्ने निर्णय भने पोप फ्रान्सिसले हालै निर्णय गरेका थिए।

रोममा रहेका बीबीसीका एक जना संवाददाता भन्छन् त्यसको एउटा राजनीतिक पाटो पनि छ।

दुवैजनालाई सन्तको उपाधि दिएर सुधार अभियान शुरु गरेका जोन तेइसौं र त्यसमा नियन्त्रण गर्ने प्रयत्न गरेका जोन पल दुवैलाई चलाखिपूर्ण तरिकाले एकसाथ सन्त घोषणा गरेर पोप फ्रान्सिसले कुनै पक्षको समर्थन गरेको जस्तो देखिने संभावित आलोचनालाई अर्कैतिर फर्काइदिएका छन्।