दक्षिण कोरियाका प्रधानमन्त्रीद्वारा राजीनामा

  • 27 एप्रिल 2014
Image caption गोताखोरहरुले डुबेको डुँगाको भग्नावसेसबाट शवहरु निकाल्ने प्रयास गरिरहेका छन्।

हालैको यात्रुवाहक डुँगा दुर्घटनापछि भैरहेको सरकारको चर्को आलोचनाकामाझ दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा दिएका छन्।

अप्रिल १६ तारीखमा ४ सय ७६ जना चढेको सिवोल नामक डुँगा दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा पल्टिएको थियो।

जिम्मेवारी

एउटा टापुमा छुट्टी मनाउन गइरहेका शिक्षक र विद्यार्थीहरु समेत चढेको उक्त डुँगाको भग्नावशेषबाट गोताखोरहरुले १ सय ८३ वटा शवहरु निकालेका छन्।

हराइरहेका दर्जनौं अरुहरुको खोजीका लागि थप केही हप्ता लाग्ने तट रक्षक सेवाका अधिकारकारीहरुले बताइसकेका छन्।

सालिन रुपमा प्रस्तुत भएका प्रधामन्त्री जंगले एउटा संक्षिप्त घोषणा गर्दै भने, “म पहिले नै राजीनामा गर्न चाहन्थे तर परिस्थितिलाई काबुमा लिनु मेरो पहिलो प्राथमिक्ता थियो र त्यसरी छाड्नु अघि सहयोग गरेर जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने मलाई लाग्यो।”

उनले प्रशासन संयन्त्रको थप बोझ नबन्न आफूले राजीनामा दिने निर्णय गरेको बताए।

प्रहार

उक्त दुर्घटनाको भोलिपल्ट शोकाकुल अभिभावकहरुलाई भेट्न गएका प्रधानमन्त्री जंगलाई तिरस्कार गर्दै एकजना पीडितका आफन्तले पानीको बोतलले प्रहार गरेका थिए।

डुबेको डुँगाबाट अझै हराइरहेका शवहरु निकाल्न खराब मौसमसँग जुध्दै गोताखोरहरुले आइतवार पनि प्रयास गर्ने बताइएको छ।

तटरक्षक सेवाका एक जना प्रवक्ताले आँधीहुरीले खोजीकार्यलाई जटिल बनाइरहेको बताए।

शवहरु खोज्न आइतवार ९३ जना गोताखोरहरु परिचालन गरिने अधिकारीहरुले बताएका छन्।