‘प्रतिफलमुखी’ बजेट ल्याउने तयारी

  • 28 एप्रिल 2014
अर्थ मन्त्रालय
Image caption वजेट विनियोजन भन्दा पनि कार्यान्वयनको पाटो चुनौतिपुर्ण हुने कतिपयको आँकलन छ

बजेट विनियोजनको लागि अर्थ मन्त्रालय, योजना आयोग र सम्बन्धित विषयगत मन्त्रालयहरुबीच छलफल भइरहेको उनले बताए।

यस पटक साना साना योजनाहरुमा बजेट छर्ने कामलाई सकेसम्म नियन्त्रण गरीने उनको भनाई छ।

चालु आर्थिक वर्ष २०७०/७१ को लागि पाँच खर्ब १७ अर्ब रुपैंयाँको बजेट प्रस्तुत भएको थियो।

'अलि ठूलो'

तर जेठ मसान्त सम्ममा आउने भनिएको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा झण्डै पौने एक खर्ब बढि हुने अर्थ मन्त्री रामशरण महतले बताए।

“यस पटको बजेट विगतको भन्दा ठूलो हुन्छ, करिव पाँच सय ९५ अर्बको वरिपरि रहेर बन्दैछ।”

गाउँ, नगर तथा जिल्ला परिषदहरुले योजना र बजेटको माग गर्दै सम्बन्धित मन्त्रालयहरुलाई विवरण पठाउछन्।

हाल ति मन्त्रालयहरु र योजना आयोग तथा अर्थ मन्त्रालयबीच बजेट निर्माणबारे छलफल भइरहेको मन्त्री महतले बताए।

“आगामी वर्षका लागि के के कार्यक्रम सञ्चालन हुन्छन्, नयाँ खालका कार्यक्रमहरु के हुन्छन् सम्वन्धित मन्त्रालयसंग छलफल भइरहेको छ।”

विगतको झैं यसपटक कनिका छरे जसरी बजेटको वितरण गरिने कार्यमाथी नियन्त्रणको प्रयास गरीने उनको भनाई छ।

“जिल्ला जिल्लाबाट साना साना आयोजनाहरु पर्छन्, सकेसम्म त्यस्तो नहोस् र प्रतिफल तुरुन्त दिने परियोजनाहरुमा लगानी गर्ने पक्षमा हामी छौं।”

तर लामो समयदेखि स्थानिय निकाय जनप्रतिनिधि विहिन भएकोले वजेटको विनियोजन भन्दा पनि यसको कार्यान्वयनको पाटो चुनौतिपुर्ण हुने कतिपयको आँकलन छ।