खार्किभ शहरका मेयर गम्भीर घाइते

  • 28 एप्रिल 2014
रुस समर्थकहरु तस्वीर कपीराइट AFP
Image caption खार्किभमा रुस समर्थक प्रदर्शनकारीहरुले हालै प्रहरीहरु चढेको बसमा हमला गरेका थिए।

पूर्वी युक्रेनमा अशान्ति जारी रहँदा खार्किभ शहरका मेयर गोली प्रहारबाट गम्भीर घाइते भएका छन्।

मेयरको कार्यालयले अज्ञात बन्दूकधारीहरुले हेनाडी कर्नेसमाथि गोली प्रहार गरेको र उनी अस्पतालमा मृत्युसंग जुधिरहेको जनाएको छ।

युक्रेनमा सत्ताच्युत गरिएका राष्ट्रपति यानुकोभिचका समर्थक रहेका कर्नेसले हालै संयुक्त युक्रेनको पक्षमा वकालत गरेका थिए।

हमला

बिहान दौडन गएको बेला अज्ञात बन्दूकधारीहरुले हेनाडी कर्नेसमाथि हमला गरेको बताइएको छ।

स्थानीय अस्पतालमा उनको आकस्मिक शल्यकृया गरिएको र उनको स्थिति चिन्ताजनक रहेको बताइएको छ।

संयुक्त राज्य अमेरिका तथा युरोपेली संघले रुसका विभिन्न व्यक्ति तथा कम्पनीहरुविरुद्ध थप नाकाबन्दी लगाउने तयारी गरिरहँदा रुस समर्थित सशस्त्र मिलिसियाहरुले पूर्वी नगर कोस्त्यान्तिनिभ्कास्थित सरकारी भवनहरुमा कब्जा जमाएका छन्।

उनीहरुले कथित स्वतन्त्र डोनेस्क गणतन्त्रको झण्डा पनि ती भवनहरुमा फहराएका छन्।

उनीहरुले स्थानीय प्रहरी कार्यालयमाथि पनि नियन्त्रण जमाएको बताइएको छ।

आरोप

यसअघि रुस समर्थक पृथकतावादीहरुले पूर्वी युक्रेनमा गत शुक्रबारदेखि कब्जामा लिएका आठजना अन्तर्राष्ट्रिय सैनिक पर्यवेक्षकहरुमध्ये एकजनालाई रिहा गरेका थिए।

रुस समर्थक पृथकतावादीहरुले उनीसँगै अर्गनाइजेशन फर सिक्युरिटी एण्ड को-अपरेशन इन युरोप (ओएससीई) सम्बद्ध ८ जनलाई बन्दी बनाएका थिए।

रुसले ठूलो मात्रामा ओएससीई सम्बद्ध सैन्य पर्यवेक्षकलाई युक्रेन प्रवेश गर्न सहमति जनाएको थियो।

उनीहरुको रिहाइको निम्ति अन्तर्राष्ट्रिय कूटनीतिक प्रयत्न जारी छ।

पश्चिमा मुलुकहरुले मस्कोमाथि पूर्वी युक्रेनका विभिन्न शहरहरुमा कब्जा जमाइरहेका सशस्त्र बन्दूकधारीहरुलाई सघाइरहेको आरोप लगाएका छन्।

नाकावन्दी

यसैबीच राष्ट्रपति ओबामाले, उनकै शब्दमा, रुसले युक्रेन सँकटको शान्तिपूर्ण समाधानका लागि गरिएको अन्तर्राष्ट्रिय संझौतालाई पालना नगरेको बताउँदै उ विरुद्ध संयुक्त राज्य अमेरिकाले थप आर्थिक नाकावन्दीहरु लगाउने जनाएका छन्।

आफ्नो एसिया भ्रमणको अन्तिम चरणमा फिलिपिन्समा बोल्दै उनले यस्तो वातावरणमा रुसलाई उच्च प्रविधिमा आधारित प्रतिरक्षा प्रणाली निर्यात गर्नु उपयुक्त नहुने पनि बताए।

रुस विरुद्ध नाकावन्दी लगाइने थप सूची बनाउने विषयमा छलफल गर्न युरोपेली संघका अधिकारीहरु पनि सोमबार भेटदैछन्।