अमेरिकाको नयाँ प्रतिबन्धमा रुसको आपत्ति

  • 29 एप्रिल 2014
तस्वीर कपीराइट AP
Image caption अघिल्लो महिना युक्रेनको क्राइमिया सहर रुसमा गाभिएपछि त्यसको अन्तराष्ट्रिय स्तरमा आलोचना भइरहेको छ

रुसले अमेरिकाको नयाँ प्रतिबन्धको निन्दा गरेको छ।

अमेरिका र युरोपेली संघले लगाएको पछिल्ला प्रतिबन्धको रुसले कडा निन्दा गरेको छ।

मस्कोले युक्रेनमा स्थितिलाई अस्थीर बनाएको आरोपमा ती प्रतिबन्ध लगाइएका हुन्।

रुसका उपविदेश मन्त्री सेरगेइ र्याबकोभले शीतयुद्ध कालीन आइरन कर्टेनताका जस्ता प्रतिवन्धले रुसको अत्याधुनिक प्राविधिक क्षेत्रलाई असर पार्ने बताएका छन्।

रोक्का

सोमबार अमेरिकाले रुसका सात व्यक्ति र राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समर्थकहरु संलग्न १७ कम्पनीमाथि नयाँ प्रतिवन्ध लगाउने घोषणा गरेको थियो।

मंगलबार युरोपेलि संघले १५ व्यक्तिको सूची तयार गरेर उनीहरुलाई भ्रमणमा रोक लगाउने र सम्पत्तिसमेत रोक्का गर्ने बतायो।

उक्त सूचीमा रुसका उप प्रधानमन्त्री दिमित्रि कोजाकसहित त्यहाँका केही नेता र सेनाका अधिकारीसमेत समेटिएका छन्।

ब्रसेल्सस्थित बीबीसीका म्याथ्यू प्राइसका अनुसार युरोपेली संघको उक्त सूचिले अमेरिकाको निशानामा परेका राष्ट्रपति पुटिनको सट्टा युक्रेनको मैदानमा उत्रिएकाहरुलाई समेट्ने देखिन्छ।

व्यबहार

तर पर्यवेक्षकहरुले संघले प्रतिवन्ध गर्ने सुचिमा राखेको भन्दा अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थहरुसंग सम्बन्धित १७ कम्पनीसमेतलाई प्रतिबन्धमा राख्नुलाई महत्वपूर्ण मानेका छन्।

गत महिना मस्कोले युक्रेनबाट क्राइमियालाई टुक्राइदिएपछि अमेरिका र युरोपेली संघले त्यहाँका कतिपय वरिष्ठ अधिकारीहरु र विभिन्न कम्पनीलाई प्रवेशाज्ञा र सम्पतीमा रोक लगाएको थियो।

रुसले युक्रेनलाई आफूमा गाभ्ने कुनै आशय नभएको कुरालाई दोहोर्याएको छ।

रुसको परराष्ट्र मन्त्रालयले आफ्नो एउटा विज्ञप्तिमार्फत युरोपेली संघले अमेरिकाको इशारामा आफुप्रति असहयोगी व्यवहार गरेको सँकेत गरेको छ।