अमरिकाद्वारा रुसबिरुद्ध थप प्रतिवन्धहरु

  • 29 एप्रिल 2014
पूर्वी युक्रेन
Image caption सोमबारै पुर्वी दोनेत्सक क्षेत्रमा थप तनावहरु भएका खबरहरु आएका छन्

पछिल्लो प्रतिवन्धको निशानामा सात व्यक्तीहरु र रुसी राष्ट्रपति भ्लादिमीर पुटीन नजिकाका १७ वटा कम्पनीहरु परेका छन्।

रुसी रक्षा मन्त्री सर्गेई शोइगुले आफ्ना अमेरिकी समकक्षी चक हेगेलसंग कुरा गर्दै रुसी फौजले युक्रेनमा हस्तक्षेप नगर्नेमा पुन: जोड दिए।

उनले वासिङटनलाई युक्रेनको संकटमाथि भइरहेको भाषणबाजीलाई कम गर्न आग्रह गरे।

तनाव

पूर्व युक्रेनी शहर खार्किभका मेयरमाथि गोली प्रहार भए लगत्तै पछिल्लो घोषणा भएको छ।

खार्किभका मेयर हेनादी केर्नेसको छाति र पेटमा गोलि लागेपछि उनी अस्पताल पुर्याइएका थिए जहाँ उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।

उनी मस्को समर्थक पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचका निकटवर्ती थिए।

युक्रेनमा रुसको निरन्तर गैरकानूनी हस्तक्षेपको विरोधमा आएको भनिएको अमेरिकी प्रतिवन्धले रुसी तेल कम्पनी रोसनेफ्ट र हाइटेक फर्म रोस्टेकका प्रमुखहरुलाई निशाना बनाएको छ।

रुसी रक्षा मन्त्री सर्गेई शोइगुले वासिङटनलाई युक्रेनको संकटमाथि भइरहेको भाषणबाजीलाई कम गर्न आग्रह गरे।

सोमबारै पुर्वी दोनेत्सक क्षेत्रमा थप तनावहरु भएका खबरहरु आएका छन्।

ती क्षेत्रहरुमा पृथकतावादीहरुले पत्रकार र पर्यवेक्षकहरुलाई नियन्त्रणमा लिन छोडेका छैनन्।

भर्त्सना

त्यस्तो कार्यको अन्तराष्ट्रिय रुपमा भर्त्सना र आलोचना भइरहेको छ।

अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले ती पर्यवेक्षकहरुलाई छोडिनु पर्नेमा जोड दिइन्।

राष्ट्रसंघका महासचिव बानकी मुनले पनि नियन्त्रणमा लिइएका पर्यवेक्षकहरुलाई बिना कुनै शर्त छोड्न आग्रह गरेका छन्।