एमाओवादी सम्मेलनमा प्रचण्डको आलोचना

  • 1 मे 2014
Image caption पार्टी नेतृत्व परिवर्तनबारे एमाओवादीभित्र लामो समयदेखि बहस सुरु भइरहेको छ।

एकिकृत माओवादीका शीर्ष नेताहरुले अध्यक्ष प्रचण्डको नेतृत्वको खुलेर आलोचना गरेका छन्।

बिहीबारदेखि बिराटनगरमा शुरु भएको पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी नयाँ ढंगले अगाडि बढाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेकोतर्फ संकेत गरे।

अध्यक्ष प्रचण्डले भने हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशा अर्न्तर्गत नै पार्टी सञ्चालन भइरहेको भन्दै आफ्नो बचाउ गरेका छन्।

अन्तराष्टिय मजदुर दिवसको अवसर पारेर शुरु भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा भट्टराईले पार्टी अगाडि बढाउन नयाँ बिचार र नयाँ नेतृत्व अपरिहार्य भएको बताए।

आलोचना

उनले भने, “अब हामीलाई हिजोकै विचार, कार्यदिशा र संगठनले पुग्दैन। हिजोकै नेतृत्व र तपाइँहरुको तागतले पुग्दैन। एउटा नयाँ शक्तिको रुपमा हामीले आफूलाई विकास गर्नुछ।”

त्यसैगरी नारायणकाजी श्रेष्ठले क्रान्तिकारी पार्टी अन्य पार्टीजस्तै हुने खतरा बढेको भन्दै घुमाउरो शैलीमा नेतृत्वको आलोचना गरेका थिए।

उनले भने, "सांगठनिक रुपले क्रान्तिकारी कम्यूनिष्ट पार्टी अर्को कांग्रेस वा एमाले बन्ने खतरा छ। हामीले त्यसबाट पार्टीलाई अन्यौल मुक्त गर्नुपर्छ।"

उनीहरु दुवैले पार्टीलाई नयाँ विचार र नेतृत्व दिन सम्मेलनमा बृहत बहस र छलफल हुनुपर्ने बताए ।

दुइजना वरिष्ठ नेताले नेतृत्वको आलोचना गरेपछि अध्यक्ष प्रचण्डले नेता र कार्यकर्ताको कार्यशैलीका कारण पार्टी राम्रोसंग सञ्चालन हुन नसकेको भन्दै आफनो बचाउ गरेका थिए।

बचाउ

उनले भने, "हाम्रा पार्टी कमिटिहरु बैठक राम्रोसँ‍ग बस्न नसक्ने, बहस राम्रोसँग गर्न नसक्ने अनि जनताको काम गर्ने भन्दा आ-आफ्नै व्यक्तिगत काम गर्ने जस्ता हुन पुगे। नेता कार्यकर्ताहरुको शैली आत्मकेन्द्रीत हुनपुग्यो।"

विराटनगर सम्मेलनले पार्टीलाई रुपान्तरण गर्ने उनले बताएका छन्।

बिराटनगरस्थित शहिद मैदानमा आयोजित सम्मेलनमा नेताहरुले भाषण गरिरहँदा एक्कासी आएको हावाहुरीले कार्यक्रम प्रभावित भएको थियो।

चारदिनसम्म चल्ने सम्मेलनमा एक हजार भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन्।

सम्मेलनमा शुक्रवार अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनितिक तथा सांगठानिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएका छन्।