आन्तरिक कारणले बन्द सत्र प्रभावित

  • 2 मे 2014
Image caption पार्टी अध्यक्ष प्रचण्डको नेतृत्व शैलीको लामो समयदेखि पार्टीभित्रै आलोचना हुँदै आएको छ

केही जिल्लामा देखिएको प्रतिनिधि छनोट र संगठित सदस्यहरुले पार्टीलाई बुझाउनुपर्ने लेबीका विषयमा विवाद बढेपछि एकिकृत माओवादीको शुक्रबार बिहानै शुरु हुने भनिएको बन्दसत्र साँझ मात्र शुरु भएको छ।

पार्टी शिर्षस्थ नेताहरु दिनभर विवाद मिलाउन मै व्यस्त रहेका थिए।

झण्डै एक दर्जन जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएर समानान्तर कमिटी बनेका समाचार बाहिर आएका थिए ।

मुख्य गरी अध्यक्ष प्रचण्ड र पूर्व उपाध्यक्ष बाबुराम भट्टराई पक्ष बीचको गुटबन्दीले सृजना गरेको भागबन्डा मिलाउन नेताहरुलाइ धौ-धौ परेको बताइएको छ।

निधारित समयभन्दा नौ घन्टा ढिलो गरि शुरु भएको बन्द सत्रमा अध्यक्ष दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरे पनि शनिबारदेखि मात्र छलफल हुने बताइएको छ ।

विवाद

नेताहरु सम्मेलनस्थल नगइ होटलमा बैठकमा व्यस्त रहेपछि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरु दिनभर फुर्सदिला देखिन्थे।

कोही सम्मेलनस्थल वीरेन्द्रसभागृह परिसरमा कुरेर बसेका थिए भने कतिपय विराटनगर र सीमावर्ती जोगवनी बजारसम्म घुम्न भ्याएका थिए।

बन्द सत्र ढिला हुनुको कारणबारे प्रवक्ता दिनानाथ शर्माले भने, “आन्तरिक प्राविधिक कारणले केही ढिला भएको छ। केही जिल्लामा सामान्य विवाद रहेको र केही जिल्लामा लेबी नतिरेको कारणले ढिला भयो।”

केही जिल्लाका प्रतिनिधि भने पार्टीभित्र विकृति मौलाएको भन्दै सम्मेलनस्थल बाहिर धर्नामा बसेका थिए।

ती प्रतिनिधिहरुले भने, “पार्टी बचाउनको लागि हामी निरन्तर प्रयासमा छौं। पार्टीभित्रै अन्तर्घात गरेकालाई कारवाही भएन।”

विकृति

पार्टी प्रवक्ता शर्माले पनि पार्टीभित्र आर्थिक अनुशासनहीनता र विकृति मौलाएको स्वीकार गरे ।

शुक्रबार साँझ ५ बजेदेखि शुरु भएको बन्दसत्रमा पार्टी अध्यक्ष दाहालले सांगठनिक प्रतिवेदन पेश गरेका थिए।

उक्त प्रतिवेदनमाथि शनिबारदेखि समूहगत छलफल हुने बताइएको छ।

सम्मेलनमा पूर्व उपाध्यक्ष बाबुराम भट्टराइले फरक प्रतिवेदन प्रस्तुत गर्ने समाचार बाहिर आइरहँदा पार्टी प्रवक्ता शर्माले भने त्यसलाइ अस्वीकार गरेका छन्।

उनले नेताहरुबीच कुनै विवाद नभएको दावी गर्दै सबैको विचार र धारणा समेटेर अध्यक्ष दाहालको एकल प्रतिवेदनमात्र आएको बताए।