'स्लोभियान्स्कमा सैन्य कारवाही'

  • 2 मे 2014
युक्रेनी सैन्य तस्वीर कपीराइट AP
Image caption युक्रेनले आफ्ना सैन्यले स्लोभियान्स्क शहरमा कैयौं जाँच चौकीहरुमाथि नियन्त्रण जमाएको बताएको छ

युक्रेनी सैन्यले पूर्वी शहर स्लोभियान्स्कमा रुस समर्थित पृथकतावादीहरु विरुद्ध एउटा सैन्य कारवाही गरिरहेका छन्।

युक्रेनले आफ्ना दुईवटा हेलिकोप्टरहरु खसालिएको र कम्तीमा एकजना चालकको मृत्यु भएको जनाएको छ।

कियभस्थित अधिकारीहरुले आफ्ना सैन्यले उक्त शहरमा कैयौं जाँच चौकीहरुमाथि नियन्त्रण जमाएको बताएका छन्।

रुस समर्थित एकजना मिलिसिया नेताले रेलवे चौकी नजीकै भीडन्तहरु भएको बताए।

गश्ती

बीबीसीसंग कुरा गर्दै स्लोभियान्स्कमा रहेका एकजना फोटोग्राफरले शहरको मध्य भाग सुनसान रहेको र हातहतियारले लैस रुस समर्थित सैनिकहरुले गश्ती गरिरहेको बताए।

उक्त शहरमा रहेका रुस समर्थित दलहरुले युरोपेली सुरक्षा तथा सहयोग संगठनसंग आबद्ध एउटा अन्तर्राष्ट्रिय टोलीलाई अझै आफ्नो नियन्त्रणमा राखी रहेका छन्।

एउटा विवादित जनमतसंग्रहपछि क्राइमिया रुसमा विलय भएपछि पूर्वी युक्रेनका अन्य भूभागलाई छुट्टिन वा रुसमा मिल्न बाट रोक्न युक्रेनको अन्तरिम सरकारले सक्दो प्रयास गरिरहेको छ।

पूर्वी शहर स्लोभियान्स्कमा रुस समर्थित विद्रोहीहरुले दुईवटा सैन्य हेलिकोप्टरहरु खसालीदिएको युक्रेनले पुष्टि गरेको छ।

कियभस्थित रक्षा मन्त्रालयले प्रारम्भिक सूचनाका आधारमा जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रहार गरी ती हेलिकोप्टरहरु खसालिएको प्रारम्भिक जानकारी प्राप्त भएको जनायो।

उसले भन्यो, यसबाट रुस समर्थित दलहरु शान्तिपूर्ण प्रदर्शनकारी नभै हातहतियारले लैस पेशेवरहरु भएको देखिन्छ।

प्रतिरोध

युक्रेनको रक्षा मन्त्रीका एकजना सल्लाहकार युरी पोभ्कले भने, "आतंकवाद विरोधी कारवाहीमा संलग्न हाम्रा सैन्यले हातहतियारले लैस, राम्रो प्रशिक्षण प्राप्त र राम्रो तैयारी गरेका विध्वंशक तथा आतंककारीहरुको प्रतिरोध व्यहोरिरहेका छन्। उनीहरुले युक्रेनका थुपै हेलिकोप्टरहरुमाथि ओसार्न मिल्ने विमानभेदी क्षेप्यास्त्र प्रणाली प्रयोग गरेर हमला गरे र दुईवटा हेलिकोप्टरहरु खसालीदिए।"

युक्रेनका गृहमन्त्री आर्सेन आभाकोभले सरकारी सैन्यले शहरमा रहेका नौवटा जाँच चौकीहरुमाथि नियन्त्रण जमाएको बताए, तर रुस समर्थित दलहरुले तीनवटा जाँचचौकीहरु अझै आफ्नो नियन्त्रणमा रहेको बताए।

युट्युबमा प्रकाशित एउटा भिडियोमा आफुलाई स्लोभियान्स्क शहरको मेयर बताउने यास्चेस्लाभ पोनोमारियोभले भने, "स्लोभियान्स्कका प्यारा नागरिकहरु, म तपाईंहरुलाई भन्न चाहन्छु कि हाम्रो शहरमाथि हमला भैरहेको छ। यसमाथि धावा बोलिएको छ। कैयौं हताहति भएको छ। म सबै महिला, बालबालिका, तथा वरिष्ठ नागरिकहरुलाई घर बाहिर नजान अपील गर्दछु। हामी अवश्य पनि विजयी हुनेछौं।"

कब्जा

त्यसो त अर्को पूर्वी शहर डोनेस्कमा पनि रुस समर्थित उग्रवादीहरुले विभिन्न सरकारी भवनहरुमा कब्जा जमाएका छन्।

क्षेत्रीय अभियोक्ताको कार्यालयलाई नियन्त्रणमा लिन खोज्ने सैयौं रुस समर्थित उग्रवादीहरु तथा दङ्गा प्रहरीबीच भीडन्त पनि भएको थियो।

युक्रेनको अन्तरिम सरकारले रुस समर्थित उग्रवादीहरु वास्तवमा स्थानीय जनता नभएर रुसले नै छद्मभेषमा पठाएका गुप्तचर तथा सैनिकहरु भएको आरोप लगाउने गरेको छ।

तर रुसले ती आरोपहरुको खण्डन गर्दै आएको छ।