एमाओवादीमा नेतृत्व चयनबारे विवाद

  • 4 मे 2014
Image caption नेतृत्व चयन प्रक्रिया विवादले जारी सम्मेलन लम्बिन सक्ने बताइन्छ

पार्टीको आगामी कार्यदिशा र नेतृत्वको भूमिकाका विषयमा वैचारिक मतभेद चर्किरहेका बेला एकीकृत माओवादीको केन्द्रिय नेतृत्व चयन प्रकृयाबारे पनि शीर्ष नेताहरुबीच मतभेद देखिएको छ।

विराटनगरमा जारी उक्त पार्टीको राष्ट्रिय सम्मेलनमा संस्थापन पक्षले चुनावबाटै नेतृत्व चयन गर्नुपर्ने बताएको छ भने पूर्वउपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरु सहमतिका आधारमा नेतृत्वको बाँडफाँड गर्नुपर्ने अडानमा रहेको बताइएको छ।

नेतृत्व चयनका विषयमा ठोस सहमति नजुटदा उक्त सम्मेलन पनि लम्बिएको छ।

अध्यक्ष प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र उनको प्रतिवेदनमाथि भट्टराईले राखेको फरक मतका विषयमा टुंगो नलाग्दै नेतृत्व चयनको विवाद बाहिर आएको हो।

जिल्ला प्रतिनिधी छनौट प्रकृयादेखि नै बलियो देखिएको भनिएको संस्थापन पक्षले पार्टीलाई सही नेतृत्व प्रदान गर्न निर्वाचन नै उत्तम विकल्प भएकोमा जोड दिएको बताइएको छ।

निर्वाचन

समुहगत छलफल र त्यसपछि भएको बन्दसत्रमा पनि अधिकांश प्रतिनिधीहरुले चुनावबाटै नेतृत्व छान्नुपर्ने धारणा राखेको सस्थापन पक्षधर नेता गोपाल किरातीले बताए।

उनले भने, ''अधिकांशको धारणा विपरित केही साथीहरु निर्वाचन हुनुहुँदैन भन्दै हुनुहुन्छ। त्यो कारण त मलाइ थाहा छैन। तैपनि चुनाव हुनुहुँदैन र चुनाव हुनुपर्छ भन्ने दुई धारणाहरुको बीचमा छलफल भईरहेको छ। निर्वाचन हुँदा राम्रो हुन्छ भन्ने मेरो धारणा हो।''

तर भट्टराई र श्रेष्ठ पक्षधर नेता तथा कार्यकर्ताहरुले पार्टीलाई अग्रगामी दिशामा अगाडि बढाउनका लागि सहमतिको संस्कार स्थापित हुनुपर्ने बताएका छन्।

भट्टराईनिकट नेता गंगा श्रेष्ठले विगतका अभ्यासलाई आधार मान्दै सहमतिको प्रयासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।

सहमति

उनले भने, ''यतिखेर हामीले वास्तवमा सहमति बनाउने कुरालाई जोड दिनुपर्दछ।''

अर्का पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट मानिने नेता गिरिराजमणि पोख्रेल पनि नयाँ र पुरानालाई मिलाएर लैजान सहमतिको नेतृत्व हुनुपर्ने बताउँछन।

उनी भन्छन्, ''अब हामीले थ्री इन वान को सिद्धान्तलाई समाउनुपर्छ। अब अनुभवी र नयाँ सबैलाइ मिलाउनुपर्दछ। सहमति भनेको त्यो विपरित कुरा पनि होइन।''

केही नेताहरुले उठाएको सहमतिको रटानलाई निर्वाचनबाट भाग्ने उपाय मात्र भएको आरोप अधिकांश सहभागीहरुले लगाउँदै आएका छन्।

बन्दसत्रमा नेताहरुको सम्पत्ति र पार्टीभित्रको आर्थिक अनियमितताको छानविन हुनुपर्ने आवाज पनि उठेको बताइएको छ।

तर उक्त पार्टीका प्रवक्ता दिनानाथ शर्माले त्यस विषयमा कुनै छलफल नभएको दावी गरेका छन्।

आईतबार सकिने भनिएको सम्मेलन नेतृत्व चयन प्रकृयामा बढेको विवादले लम्बिएको छ।