दक्षिणी युक्रेनको प्रहरी मुख्यालयमा आक्रमण

  • 4 मे 2014
तस्वीर कपीराइट Reuters
Image caption ओडेस्साम रुस समर्थक पृथकतावादीहरुको पकड बढ्दै गएको बताइएको छ

रुस समर्थकहरुले युक्रेनको दक्षिणी सहर ओडेस्सास्थित प्रहरी मुख्यालयमा आक्रमण गरेका छन्।

शुक्रबारको हिंसापछि पक्राउ परेकाहरुको रिहाइको माग गर्दै प्रहरी मुख्यालय बाहिर भेला भएका रुस समर्थक र प्रहरीबीच झडप भएको बताइएको छ।

यसअघि युक्रेनका प्रधानमन्त्रीले ४० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको ओडेस्सामा हिंसा रोक्न देशको सुरक्षा निकाय असफल भएको बताएका थिए।

उक्त घटनाबारे बृहद र स्वतन्त्र अनुसन्धान गरिने प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले बीबीसीलाई बताए।

अनुसन्धान

ओडेस्सामा भएको हिंसाबारे यात्सेन्युकले भने, ‘’यो कारवाही रोक्नका लागि केही नगरेकोमा व्यक्तिगत रुपमा म सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायलाई जिम्मेवार ठान्छु।‘’

मृत्यु हुनेहरुमध्ये अधिकांश रुस समर्थक पृथकतावादीहरु भएको बताइएको छ।

बाहिर अवरोध खडा गरी एउटा भवनमा उनीहरु बसिरहेका बेला आगलागी हुँदा उनीहरुको मृत्यु भएको थियो।

युक्रेनी सेनाले रुस समर्थक पृथकतावादीहरुको पकड रहेको पूर्वी स्लोभियान्स्कलाई घेरामा पारेपछि प्रधानमन्त्रीको उक्त भनाई आएको हो।

यात्सेन्युकले सुरक्षा बलहरु असक्षम रहेका र उनीहरुले कानूनको उल्लंघन गरेको बताए।

उनले ओडेस्साका प्रहरी प्रमुखलाई हटाइ सकिएको र अभियोजक कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताए।

यात्सेन्युकले भने, “अभियोजक कार्यालयले प्रहरी प्रमुखदेखि उनका उपप्रमुखहरु र प्रत्येक प्रहरी अधिकारीबारे अनुसन्धान गर्नेछ।”

आगलागी

ओडेस्सामा शुक्रबार भएको घटनामा करिब ४२ जना मारिएका थिए।

उनीहरुमध्ये अधिकांशको ट्रेड युनियन हाउसमा आगलागी हुँदा मृत्यु भएको थियो।

कियभ समर्थकहरुसँग झडप भएपछि बाहिर अवरोध खडा गरी रुस समर्थक पृथकतावादीहरु उक्त भवनभित्र बसिरहेका बेला आगलागी भएको थियो।

यात्सेन्युकले रुस समर्थकहरुले हिंसा भड्काएको आरोप लगाए।

रुस र रुस समर्थक प्रदर्शनकारीहरुले युक्रेन र युक्रेनी स्वतन्त्रतालाई सखाप पार्नका लागि वास्तविक युद्ध गर्न चाहेको आरोप समेत उनले लगाए।

रुस समर्थकहरुले पूर्वी सहरका विभिन्न सरकारी भवनहरुमाथि कब्जा जमाएको विषयमा जिज्ञासा राख्दा यात्सेन्युकले भने, “पूर्णरुपमा हामीहरुले नियन्त्रण गुमाएका छैनौं र धेरै कुरा स्थानीय मानिसहरुमा निर्भर गर्छ।”