सुरुङ निर्माणको उपकरण ल्याइदैँ

  • 5 मे 2014
तस्वीर कपीराइट melamchi project
Image caption दुई बर्षपछि पहिलो चरणमा मेलम्चीको पानी काठमाण्डू ल्याइ सक्ने सरकारी लक्ष्य छ

शहरी विकास मन्त्रालयलका सचिवले मेलम्ची खानेपानी आयोजनाको सुरुङ दैनिक ४० मिटर खन्नका लागी आवश्यक उपकरणहरु दुई हप्ताभित्र ल्याइसक्ने बताएका छन्।

खन्ने उपकरणको अभावमा अहिले योजना गरिएको भन्दा झन्डै ६ गुणा कम अर्थात दैनिक सात मिटरमात्र सुरुङ खन्ने काम भैरहेको छ।

सिन्धुपाल्चोकबाट पानी ल्याएर उपत्याकाको तिर्खा मेटाउने उद्देश्य सहित १६ बर्षअघि मेलम्ची आयोजनाको कम शुरु गरिएको थियो।

ढिलाई

दैनिक ५१ करोड लिटर पानी काठमाण्डू उपत्यका ल्याउने लक्ष्य लिएको उक्त परियोजनाले पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने लक्ष्य अनुसार सुरुङ खन्ने काम गरीरहेको छ।

तर आवश्यक उपकरणको अभावमा काम निक्कै ढिलो अघि बढिरहेको भनेर चिन्ता व्यक्त भैरहेका छन्।

सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले दुई हप्तापछि सुरुङ खन्न आवश्यक सम्पुर्ण उपकरण आइसक्ने र कामले गति लिने बताए।

उनले भने, “८० प्रतिशत उपकरण आइपुग्यो, बाँकि २० प्रतिशत १५ दिनमा आइपुग्छ अनि पूर्ण गतिमा काम हुन्छ, अहिले ७ मिटर प्रतिदिन खन्ने गरिएको छ र त्यो बढ्दै गएर ४० मिटर पुग्छ।”

कार्यतालिका अनुसार हाल मेलम्ची खानेपानी आयोजनाको काम तीन महिना ढिलो भएको मन्त्रालयले जनाएको छ।

तर ठेकेदार कम्पनीले कार्तिक महिनासम्ममा ढिलाई भएको कामलाई पनि पुर्णता दिएर पूर्वनिर्धारित समय अर्थात ०७३ साल बैशाख १ गते मेलम्चीको पानी राजधानी ल्याई पुर्याउने दृढता व्यक्त गरेको सचिव थापाले बताए।

तिर्खा

हाल काठमाण्डूमा दैनिक ३६ करोड लिटर पानीको माग भए पनि त्यसको एक चौथाई मात्रै आपूर्ति हुन सकेको बताईन्छ।

सुख्खा यामका कारण यतिखेर काठमाण्डूबासीले पानीको चरम संकट भोगिरहेका छन्।

उनीहरु जमिनमुनिको पानी तानेर वा ट्याङ्करबाट पानी किनेर दैनिक आवश्यकताको जोहो गर्न बाध्य छन्।

तर मेलम्चीको खिचातानीको लामो श्रृखलाका साक्षी रहेका राजधानीबासीले सिन्धुपाल्चोकबाट पानी ल्याएर सरकारले चाँडै उनीहरुको तिर्खा मेटाउँला भन्ने आशा थोरै पालेका छन्।