एमाओवादी अध्यक्षमा फेरि प्रचण्ड

  • 6 मे 2014
Image caption एमाओवादीबाट चोइटिएको नेकपा माओवादीले आफ्नो राष्ट्रिय सम्मेलन असारमा तय गरेको छ।

बारम्बारको बैठक पछि सहमति जुट्न नसके पनि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ९९ सदस्यीय केन्द्रिय समिति गठन गरेका छन्।

नेतृत्व चयनका लागि तीनदिनदेखि जारी सहमतिको प्रयास सफल नभएपछि अध्यक्ष प्रचण्डले मंगलबारको बन्दसत्रमा केन्द्रीय समितिमा रहने ९९ जनाको नाम प्रस्ताव गरेका थिए।

नेतृत्व चयन प्रक्रिया विधिसम्मत नभएको र प्रस्तावित नाम सन्तुलित नभएको भन्दै अर्का वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरले समितिमा नबस्ने घोषणा गरेका छन्।

प्रचण्ड पक्षले भने सहमतिको प्रयास विफल भएकोले अध्यक्षद्वारा प्रस्तावित नामलाई सम्मेलनमार्फत अनुमोदन गरेको जनाएको छ।

नेतृत्व

सम्मेलनले अनुमोदन गरेलगत्तै मंगलबार नै बसेको केन्द्रीय समिति बैठकले अर्का नेता नारायणकाजी श्रेष्ठको प्रस्तावमा प्रचण्डलाई पुन: पार्टी अध्यक्षमा निर्वाचित गरेको थियो।

त्यसमा भट्टराईलगायत अधिकांश केन्द्रिय नेताहरुको नाम समावेश थियो।

प्रचण्डले प्रस्ताव गरेको नाममा बहुमत प्रतिनिधिहरुले समर्थन गरेको संस्थापन पक्षले बताएको छ।

तर भट्टराइ पक्षधर नेताहरुले उक्त प्रस्तावमा असहमति जनाउँदै समितिमा नबस्ने घोषणा गरेको प्रवक्ता दिनानाथ शर्माले बताए।

असन्तुष्टि

उनले भने, “प्यानल प्रस्ताबमा बाबुराम भट्टराइले यो अलि सन्तुलित भएन, यो अलि मिलेन भनेर असहमति जाहेर गर्नुभयो। यसपटक केन्द्रीय समितिमा बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, प्रभु साहलगायतका नेताहरु नबस्ने भन्ने जानकारी टोपबहादुर रायमाझीले बताउनुभयो।”

त्यस्तो असहमतिपछि हलबाट निस्किएका भट्टराईले भने भित्र कुनै विवाद नरहेको र आफ्नो व्यक्तिगत कारणले छिटो राजधानी फर्किन लागेको जवाफ संवाददाताहरुलाई दिएका थिए।

उनले भने, “सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ। म चाहिँ भोलि चीन जाँदै छु त्यसैले म अहिले निस्केको हुँ अन्यथा होइन।”

भट्टराई लगायत असन्तुष्ट नेताहरु हलबाट बाहिरिए लगत्तै बसेको नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठकले प्रचण्डलाई पुन: पार्टी अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको घोषणा गरिएको थियो।

केन्द्रिय नेतृत्वका अन्य पदहरुमा भने पछि निर्णय हुने बताइएको छ ।