स्लोभियान्स्क क्षेत्रमा भीडन्त

  • 6 मे 2014
अवरोध तस्वीर कपीराइट Vasily Maximov AFP
Image caption रुस समर्थकहरुले शहरका सबैजसो सडकहरुमा अवरोध खडा गरेका छन्

युक्रेनका गृहमन्त्री आर्सेन आभाकोभले देशको पूर्वमा विद्रोहीहरुको पकडरहेको स्लोभियान्स्क क्षेत्रमा गएको शनिबारदेखि भैरहेको भीडन्तमा तीसजना भन्दा बढी रुससमर्थित लडाकुहरु तथा चारजना सरकारी सैन्य मारिएको जनाएका छन्।

स्लोभियान्स्कबाट प्राप्त समाचारहरुमा स्थानीय वासिन्दाहरुले खानेकुरा भण्डार गरिरहेको र करीब करीब सबैजसो सडकहरुमा अवरोधहरु खडा गरिएको बताइएको छ।

सरकारी सैन्यले रुस समर्थित कार्यकर्ताहरुले नियन्त्रणमा लिएका पूर्वी युक्रेनका भूभागमा फेरि नियन्त्रण कायम गर्न प्रयास गरिरहेका छन्।

भण्डारण

स्लोभियान्स्कमा रहेका रसिया टुडेका एकजना संवाददाताले जाँचचौकीहरुमा रुस समर्थित बन्दूकधारीहरुको संख्या बढाइएको र स्थानीय वासिन्दाहरुले खानेकुरा, पिउने पानी आदि भण्डारण गरिरहेको बताए।

आफ्नो नाम एलेक्सी बताउने एकजना स्थानीय वासिन्दाले भने, "यदि युक्रेनी सैन्यले धावा बोले भने सांच्चिकै भन्ने हो भने मैले घरमा एउटा सावेल तिखारेर राखेको छु, म त्यही लिएर निस्कनेछु। मैले हतियार मागेको थिएँ, तर रुस समर्थित लडाकुहरुले मलाई हतियार दिएनन्। मेरी श्रीमती रुसी हुन्, उनीपनि लडन बाहिर आउनेछिन्।"

विद्रोहीहरुले सो क्षेत्र युक्रेनबाट अलग हुन चाहन्छ वा चाहँदैन भन्नेबारे आउँदो आइतबार एउटा जनमतसंग्रह गराइने जनाएका छन्।

कियभले त्यस्तो जनमतसंग्रह गैरकानुनी हुने र त्यसलाई कुनैपनि हालतमा मान्यता नदिइने जनाएको छ।

जनमतसंग्रह

तर युक्रेनको अन्तरिम सरकार तथा पश्चिमा मुलुकहरुको कडा विरोधका बावजुद रुससंग सीमा जोडिएको युक्रेनकै क्राइमिया क्षेत्रमा गएको मार्च महिनामा जनमतसंग्रह गराइएको थियो।

उक्त विवादित जनमतसंग्रहमा अत्यधिक मतदाताहरुले युक्रेनबाट अलग हुनेपक्षमा मतदान गरेको बताइएको थियो।

त्यसयता क्राइमियालाई रुसले आफ्नो भूभागमा विलय गराइसकेको छ।

पूर्वी युक्रेनका थप भूभागहरुलाई स्वतन्त्र बन्न वा रुसमा विलय हुनदिनबाट रोक्न युक्रेनी सैन्यले स्लोभियान्स्कमा रुस समर्थित पृथकतावादीहरु विरुद्ध एउटा सैन्य कारवाही गरिरहेका छन्।

यसअघि युक्रेनी अधिकारीहरुले विद्रोहीहरुले आफ्ना दुईवटा हेलिकोप्टरहरु खसालीदिएको र कम्तीमा एकजना चालकको मृत्यु भएको जनाएका थिए।

औचित्य

रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले युक्रेनको सरकारका विरोधीहरुलाई समावेश नगरी युक्रेनमा जारी तनाव घटाउने संबन्धमा नयाँ अन्तर्राष्ट्रिय वार्ताहरु गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

भियनामा काउन्सिल अफ युरोपको बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै उनले आउँदो मे २५ तारिखमा राष्ट्रपतीय चुनाव गराउने युक्रेनी अधिकारीहरुको पहल अस्वाभाविक भएको बताए।

उनले भने, "देशको एक भागमा सैनिक कारवाही जारी रहेका बेला चुनाव गराउने कुरा गर्नु अस्वाभाविक हो।"

रुसले छिमेकी युक्रेनलाई अस्थिर बनाउन खोजीरहेको छ भन्ने आरोपहरुको जवाफ दिंदै लाभ्रोभले भने, "मस्को सत्ता परिवर्तन गर्ने कुरामा विश्वास गर्दैन।"