अमेरिकाले सिरियाका विपक्षी गठबन्धनलाई नियोग स्थापना गर्न दिने

  • 6 मे 2014
तस्वीर कपीराइट AP
Image caption सिरियाको गृहयुद्धमा झन्डै डेढ लाख जनाले ज्यान गुमाएका छन्

गएको मार्चमा वासिङ्गटनमा सिरियाली राजदुतावासलाई बन्द गराएको अमेरीकाले सिरियाको मुख्य विपक्षी गठबन्धनलाई अमेरिकामा कुटनीतिक नियोग खोल्न अनुमति दिएको अधिकारीहरुले बताएका छन्।

यसअघि सो विपक्षी गठबन्धनको अमेरिकामा अनौपचारीक सम्पर्क कार्यलय मात्र थियो।

उक्त गठबन्धनका नेता एहमद अल जार्बाले आफ्नो पहिलो औपचारीक वासिङटन भ्रमणमा उच्च वार्ताहरु गर्ने तयारी गरिरहँदा पछिल्लो घोषणा आएको हो।

हैसियत

अमेरिकी निर्णयले उक्त गठबन्धनलाई मार्चमा निलम्बन गरिएको वासिङटनस्थित सिरियाली राजदुतावासको स्थान लिन वा सिरियाको सरकारकै जस्तो मान्यता पाउने मौका दिने छैन्।

न त गठबन्धनसँग सम्बन्धित अधिकारीहरुले कुनै किसिमको कुटनीतिक उन्मुक्ती पाउनेछन्।

बीबीसीकी सम्वाददाता बारबरा प्लेट भन्छिन्, "तर विपक्षीहरुले यसलाई आफ्नो विश्वसनियता अभिवृद्धि गर्ने र सिरियाली डायस्पोरा सहित अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुर्याउने एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छन्।"

यसले ‍बैकिङ् र सुरक्षा सहितका व्यवहारिक विषयमा पनि उनीहरुलाई सहयोग पुर्याउने देखिन्छ।

अमेरिकी प्रशासनका एक जना बरिष्ठ अधिकारीले सिरियाली सरकार र विद्रोहीहरुबीच लडाँइको मैदानमा देखिएको असमानता सम्बोधन गर्नुपर्नेमा जोड दिए।

सम्भवत यसैका लागी अमेरिकाले दुई करोड ७० लाख अमेरीकी डलर बराबारको गैर घातक सैन्य साहयता उपलब्ध गराउने घोषणा गरेको हुनसक्छ।

उसले लडाकूहरुका लागि आवश्यक अन्य बन्दोबस्तीका सामानहरु चाँडो उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

माग

तर पछिल्लो सहयाता विपक्षी गठबन्धनले राख्दै आएको अत्याधुनिक हात हतियार उपलब्ध गराउने माग भन्दा निक्कै थोरै हो।

अमेरिकी प्रशासनभित्र नै मध्यमार्गी बिद्रोहीहरुलाई हतियार उपलब्ध गराउने या नगराउने र सैन्य तालिमलाई बिस्तार गर्ने नगर्ने भन्ने बारे बहस चलिरहेको छ।

अर्को महिना हुने राष्ट्रपतिय चुनावअघि राष्ट्रपति बसर अल असदले हासिल गरेको सैन्य उपलब्धिलाई चुनौति दिन अमेरिकाले आफूलाई अत्याधुनिक हतियार उपलब्ध गराउनुपर्ने माग विपक्षीहरुले गरेका छन्।

अमेरिकाले उक्त विपक्षी गठबन्धनलाई सन् २०१२ मा सिरियाली जनताको वैधानिक प्रतिनिधिको रुपमा मान्यता दिएको थियो।

एउटा विज्ञप्तीमा जर्बाले अमेरीकाकी निर्णय असद सरकारको बैधानिकतामाथि कुटनीतिक धावा भएको भन्दै विपक्षी शक्तीहरुले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिक्रिया दिएका छन्।

मजाक

सन् २०११ मा शान्तिपूर्ण प्रदर्शनहरुपछि सिरियामा सुरु भएको गृहयुद्धका क्रममा अहिलेसम्म डेढ लाख भन्दा बढीको ज्यान गएको छ र लाखौँ मानिसहरु विस्थापित भएका छन्।

सिरियाली राष्ट्रिय गठबन्धनको एउटा प्रतिनिधिमण्डल अमेरिकी विदेशमन्त्रालयका प्रतिनिधिहरुसँग वार्ता गर्न सोमबार वासिङटन पुगेको छ।

जार्बाले अमेरिकी विदेशमन्त्री जन केरीले बिहीवार भेटघाट गर्ने कार्यक्रम छ।

राष्ट्रपति असद सम्बद्ध फौजहरुले लडाँइमा हासिल गरिरहेको सफलताका माझ विपक्षी गठबन्धनको अमेरिका भ्रमण भएको हो।

अमेरिकाले राष्ट्रपति असदले आगामी जुनका लागि घोषणा गरेको चुनावलाई 'लोकतन्त्रप्रतिको मजाक' को संज्ञा दिएको छ।