क्रिकेटमा अफगानिस्तानको खड्गो

  • 8 मे 2014
अफगान टोली
Image caption पछिल्ला वर्षहरुमा अफगान क्रिकेट टोली नेपालीका निम्ति खड्गो सरह बन्दै आएको बताइन्छ

चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग पराजित भएपछि मलेसियामा हालै सम्पन्न एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल तेस्रो स्थानमा सीमित हुन पुग्यो।

लिग च्याम्पियन बन्ने सम्भावना ठूलो रहेको भएतापनि विगतमाजस्तै यसपटकपनि नेपाली क्रिकेटले अफगानिस्तानको खड्गो टार्न सकेन।

कट्टर

टेष्ट नखेल्ने राष्ट्रहरुमाझ एशियाली क्रिकेटमा नेपाल र अफगानिस्तानलाई कटटर प्रतिद्धन्दी मानिन्छ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको अफगानिस्तानलाई पहिलो भेटमै नेपालले एसीसी ट्रफीमा हराएको थियो। तर त्यसपछिका वर्षहरुमा भने अफगानिस्तानले मैदानमा आफ्नो एकछत्रझैँ राज गरेको छ। नेपाल मात्र होइन, अन्य टेष्ट नखेल्ने एशियाली राष्ट्रहरुलाईपनि पछि पार्दै।

द्वन्द्वले जर्जर पारेको मुलुक अफगानिस्तानको क्रिकेट टोलीले द्रुत गतिमा प्रगति गरेको छ। उसले यसबीच ३ पटक २० ओभरको विश्वकप खेलिसकेको छ भने अर्को वर्ष हुने एक दिवसिय विश्वकपमा समेत छनोट भइसकेको छ।

दबाब

कतिपयको भनाई छ अफगानिस्तानसंग खेल्दा नेपाली खेलाडीहरु मानसिक रुपमा पहिल्यै नै दबाबमा पर्ने गर्दछन्। तर खेलाडीहरु भने त्यसलाई स्वीकार्दैनन्।

मलेसियामा अफगानिस्तानसँग हारेपछि बीबीसीसँग बोल्दै कप्तान पारस खड्काले आफुहरु कमजोर नभएको बताए।

“खास खास दिनमा हामीले खेल्न नसकेका हौँ। तर यसको मतलब यो होइन कि हामीले अफगानिस्तानलाई जित्नै सक्दैनौँ। हामी त्यसको प्रतिक्षामा छौँ,” खड्काले भने।

गत वर्ष इमर्जिङ कपको दौरान नेपाल जितको नजिक पुग्दा पुग्दै ३ रनले हारेको थियो। त्यस्तै टी २० विश्वकप छनोटका बेला वर्षाले ७ ओभर छोट्याएको खेलमा पनि कप्तान पारसले जितको विश्वासका साथ खेल अघि बढाउने अनुमति दिए। तर फेरि अफगानिस्ताननै विजयी भयो।

पाका खेलाडी शक्ति गौचनको अनुभवमा मैदानमा हुंदा अफगानी होइन बरु नेपाली खेलाडीहरु नै उनीहरु विरुद्ध हावी हुने गर्दछन्। तर जित भने उसकै पोल्टामा जाने गर्छ। किन?

पूर्व खेलाडी राजु बस्नेत भन्छन्, “दबाब एउटा कारण हो। मुख्य कुरा अफगानिस्तानसंग केही निकै राम्रा तेज बलरहरु छन् र नेपाली ब्याट्सम्यानहरुले अन्तर्राष्ट्रिय क्रिकेटमा माथिल्लो तहको तेज बलिङसंग खेल्न सकिरहेका छैनन्। त्यो मुख्य भिन्नता हो।”

रोष

नेपाल र अफगानिस्तानबीचको प्रतिस्पर्धाको अर्को कारण के पनि मानिन्छ भने नेपालले पाउने आशा गरिएका कतिपय एशियाली क्रिकेट कार्यक्रम र सहयोगहरु अफगानिस्तानमा गएको छ।

Image caption अफगानिस्तानसँग भीँडदा आफुहरु दबाबमा पर्ने गरेको भन्ने समाचार खड्काले अस्वीकार गरेका छन्

अफगानीहरु पनि नेपाललाई संधै दबाब दिने धुनमा देखिने गर्छन्।

दुई महिना अघि बंगलादेशमा टी २० विश्वकपका दौरान खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा अफगानिस्तानका कप्तान मोहम्मद नावीले नेपाललाई हराउनु कुनै ठूलो कुरा नभएको हलुका प्रतिक्रिया दिएका थिए। त्यसको भोलिपल्ट नेपालले अफगानी टोलीलाई ९ रनले हराएर नावीको प्रतिक्रियाको कडा जवाफ दिएको थियो।

तर टी २० को उक्त जितपछि एक दिवसिय प्रतियोगितामा त्यही विजय कथा दोहोराउन नेपालले सकेन।

क्रिकेट विश्लेषकहरुका अनुसार अफगानिस्तानको क्रिकेट आधार नै बलियो बनिसकेको छ।

“अफगानिस्तानका थुप्रै खेलाडीहरु पाकिस्तानमा बसेकाहरु छन् र उनीहरुले पाकिस्तानको क्रिकेट संस्कारमा हुर्किने अवसर पाएका छन्। अहिले सम्म त्यो प्रभाव देखिएको छ। कति खेलाडीले पाकिस्तानको घरेलु क्रिकेट खेलेका छन्। पाकिस्तानको साथनै अफगानिस्तानको लागि मुख्य अवसर बनेको हो,” पूर्व खेलाडी तथा क्रिकेट प्रशिक्षक बस्नेतले बताए।

जे होस् कप्तान पारसले भने झैं अफगानिस्तान हराउनै नसकिने टोली भने होइन। तर त्यसका निम्ति नेपालले अझै बलियो तयारी भने गर्नु जरुरी देखिन्छ।