अपहरित दुई सय छात्रा मुक्त गर्न अमेरिकी विशेषज्ञ टोली

  • 9 मे 2014
अपहरित छात्राकी एक महिला तस्वीर कपीराइट AFP
Image caption अपहरित छात्राको रिहाईका निम्ति सरकारी प्रयत्नलाई लिएर नाइजेरियमा व्यापक असन्तुष्टी छ

अमेरिकाले नाइजेरियामा ईस्लामवादी लडाकू समूह बोको हरामद्वारा अपहरित दुई सयभन्दा बढी स्कूले किशोरीहरुलाई मुक्त गराउन आफ्नो देशका विशेषज्ञहरुको एउटा समूहले काम शुरु गर्न लागेको जनाएको छ।

देशको उत्तरपूर्वी राज्य बोर्नोको चिबोकस्थित एउटा बोर्डिङ स्कूलबाट तीन हप्ता अघि १४ अप्रिलको रात उनीहरुलाई अपहरण गरिएको थियो।

विदेशमन्त्री जोन केरीले भने, “बोको हरामका लडाकूहरुको चुनौतिको सामना गर्न र अपहरितहरुलाई फिर्ता ल्याउन उक्त टोलीले नाइजेरियाको सरकारसँग मिलेर हरसम्भव उपाए अपनाउने छ।”

आशा

अपहरण विरुद्ध सरकारी प्रयासप्रति असन्तुष्टीहरु आइरहँदा नाइजेरियाले अन्तर्राष्ट्रिय सहयोग पाउन थालेको हो।

राष्ट्रपति बराक ओबामाले उक्त समूह सेना कानुन लागु गर्ने निकाय र अन्य संयन्त्रका सदस्यहरु सहभागी रहने बताएका थिए।

अपहरणको घट्नाले बोको हराम विरुद्धको कारवाहीका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई प्रेरित गर्ने उनको आशा थियो।

नाइजेरियाका राष्ट्रपति गुडलक जनाथनले छात्राहरुको अपहरण बोको हराम विरुद्धको कारवाहीको निर्णायक मोड सावित हुन सक्ने बताएका छन्।

राष्ट्रपति जनाथन राजधानी अबुजास्थित विश्व आर्थिक फोरमको एउटा कार्यक्रममा बोल्दै थिए।

शुरुवात

उनले भने, “मलाई लाग्छ, ती छात्राको अपहरण नाइजेरियाको आतंक अन्त्यको शुरुवात हुनेछ।”

भाषणका क्रममा उनले छात्राहरुको उद्धारका निम्ति अमेरिका, फ्रान्स, बृटेन र चीनले गरेको सहयोगको प्रस्तावप्रति आभार पनि व्यक्त गरे।

आफ्नो भाषण लगत्तै उनले बीबीसीसँगको कुराकानीमा सहयोगहरु प्राप्त हुन थालेको बताउँदै भने, “हामी नाइजेरियामा रहेको आतंक अन्त्य गर्न सफल हुनेछौं।”

घट्ना विरुद्ध सामाजिक संजालमा अभियान लगाइएको छ।

अमेरिकी प्रथम महिला मिसेल ओबामाले ‘हाम्रो प्रार्थना हराईरहेका छात्रा र उनीहरुको परिवारजनप्रति छ’ भनी ट्वीट गर्दै ‘यो हाम्रा छात्राहरुलाई फर्काउने बेला हो’ भन्ने नाम दिइएको उक्त अभियानमा जोडिएकी छन्।

चुपचाप

अमेरिकी अभिनेत्री एन्जेलिना जोलीले अपहरणमा दण्डहीनताको संस्कार जिम्मेवार रहेको आरोप लगाउँदै अव त्यसो हुन्न भन्ने कुरा विश्वले सुनिश्चित गर्नु पर्ने बताएकी छन्।

तालिबान विद्रोहीहरुको गोलि लागेर पनि बाँच्न सफल पाकिस्तानी स्कूले छात्रा मलाला युसुफजइले अपहरणबारे विश्व चुप लागेर बस्नु नहुने बताइन्।

तस्वीर कपीराइट BBC World Service
Image caption श्रीमती ओबामाका साथै विश्वका विभिन्न क्षेत्रमा चर्चित व्यक्तिहरुले अपहरण विरुद्धको आवाज उठाइरहेका छन्

बीबीसीसँग उनले भनिन, “यदि हामी चुपचाप रह्यौं भने, अपहरण बढ्ने छ र त्यस्तो फेरी, फेरी र फेरी पनि भइरहने छ।”

सोमवार एउटा भिडियोमा बोको हरामका नेताले अपहरित छात्रालाई बेच्ने धम्की दिएका थिए।

लुकाएको ठाउँ

उनीहरुलाई चिबोकदेखि छिमेकी देश क्यारुनसम्म फैलिएको ठूलो जंगली क्षेत्रमा लुकाइएको विश्वास गरिएको छ।

उक्त संगठनले ती छात्रालाई स्कूलमा राख्नुको साटो उनीहरुको विहे गरिदिनु पर्ने बताएको छ।

स्थानीय भाषामा ‘पश्चिमा शिक्षा प्रतिवन्धित छ’ भन्ने अर्थ बोकेको बोको हरामले सन् २००९ मा नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट आफ्ना गतिविधि शुरु गरेको थियो।

हिंसा र सुरक्षा कारवाहीमा यस वर्षमात्रै कम्तिमा १२ सय मानिस मारिएका छन्।